जनता टाइम्स

२८ बैशाख २०७९, बुधबार ११:०९

ललितपुरका मतगणना स्थलमा विद्युत् र इन्टरनेटको समस्या


ललितपुर, २८ वैशाख । दक्षिण ललितपुरको मतगणना स्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्नसक्ने भन्दै मतदान अधिकृतहरू चिन्तित् छन् । बागमती गाउँपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले विद्युत्‌को समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अँध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’

बागमती गाउँपालिका कार्यालयको इन्टरनेट नै प्रयोग गरिने पोखरेलले बताउनुभयो । महांकाल गाउँपालिकाकी मतदान अधिकृत सुशीला ज्ञवालीले पनि मतदान स्थलमा विद्युत्‌को समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘यहाँ भएको वैकल्पिक व्यवस्थाको रुपमा सोलार प्रयोग गर्दैछौं ।’

उता कोञ्ज्योसोम गाउँपालिकामा पनि विद्युत् जानसक्ने समस्यालाई मध्यनजर गरेर सोलार जोहो गरिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथालाले बताउनुभयो । उहाँले भन्नुभयो,‘सोलार त छ । तर नितरन्तर घाम लागे चार्ज होला । नत्र चार्ज हुँदैन ।’ मतगणनाको लागि छुट्टै इन्टरनेटको व्यवस्था नगरिएको महांकाल गाँउपालिकाकी मतदान अधिकृत ज्ञावालीले बताउनुभयो । उहाँले भन्नुभयो,‘पालिकामा भएको इन्टरनेट तानेर चलाइएका छौं ।’

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनका लागि लक्षित गरेर प्राधिकरणसँग समन्वय गरेर बिजुली व्यवस्था गर्ने तयारी भइरहेको बताउनुभयो । ‘हामी वैकल्पिक व्यवस्था गर्ने व्यापक योजना बनाउँदै छौँ,’ उहाँले भन्नुभयो,‘इन्टरनेटको लागि फोनलगायत सबै स्रोत प्रयोग गरिन्छ ।’

मतगणना स्थलमा तार जाली

ललितपुरका मतगणनाका क्रममा तार जाली राख्ने तयारी गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकाको मतगणना स्थलमा ग्याविन तार (पर्खाल लगाउने तार) ले छेकिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘मतगणना गर्ने ठाँउ तार जालीले बेरेर बलियो बनाइसक्यौं ।’ महांकाल गाउँपालिकाकी निर्वाचन अधिकृत ज्ञवालीले पनि मत गणनास्थललाई छेक्न तार जाली ल्याइसकेको बताउनुभयो । बागमती गाउँपालिकाका मतदान अधिकृत पोखरेलले तारजाली भित्र बसेर कर्मचारीले मतगणना गर्ने र तार जाली बाहिर प्रतिनिधि बस्ने व्यवस्था हुने बताउनुभयो ।