जनता टाइम्स

२८ असार २०७६, शनिबार १३:०९

बाँध भत्काएरै भारतीय बस्तीतिर पस्यो बाढी, नेपाललाई हेप्दा आफैमाथि बज्रपात


रौतहट, २८ असार । नेपाल–भारत सीमास्थित रौतहटमा भारतीय पक्षले बनाएको बाँध बाढीले भत्किएको छ । रौतहट सदरमुकाम गौरसहित मुख्य बजार नै संकटमा पर्ने गरी डुवानमा पर्दा भारतले पानी थुन्ने ढोका नखोलेपछि बाँढीले बाँध नै भत्काएको हो ।

बाँधका कारण रौतहट शनिबार बिहान डुबेको थियो । बाँध भत्किएपछि बाढी भारतीय बस्तीहरू बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका ठाउँमा पसेको छ । भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका थिए । नेपाली प्रशासनले पानीको बहाव खोलिदिन आग्रह गरेको थियो । बाँध खोल्नुको साटो भारतीय सुरक्षाकर्मी खटाइएको थियो ।

भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका थिए । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव बढ्दै गए पनि भारतीय पक्षले सीमा क्षेत्रमा लगाएको बाँधको ढोका नखोलिदिँदा रौतहट सदरमुकाम गौरसहित मुख्य बजारहरु डुवानमा परेका हुन ।

बाँधका ढोका नखोलेकै कारण चन्द्रनिगाहपुर, मत्सरी, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, कटहरीया, बसन्तपट्टी, तेजापाकड, फतुवा महेशपुर, राजपुर, जिंगडवा, मलाही टोल, पोठियाहीलगायत क्षेत्रहरु डुबानमा परेका छन । दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

रौतहटका प्रमुख जिल्ल अधिकारी किरण थापाले बाँध खोल्न पटक पटक आग्रह गर्दा पनि भारतीय पक्षले नसुनेको गुनासो गर्नुभयो । ‘मैले पटक–पटक बाँध खोलिदिन आग्रह गरेको छु, तर नखोलिदिँदा समस्या भयो,’ प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो । लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्न एप फुट पनि बाँकी नरहँदासमेत भारतले ढोका खोलेको थिएन । सोही बाँध फुटेर भारतीय बजारहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्तीतिर बाढी प्रवेश गरेको हो ।

नेपालका दर्जनौं बस्ती डुवानमा पर्दासमेत बाँध नखोलेपछि भारतको चर्काे बिरोध भएको छ । सामाजिक सञ्जालमार्फत पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै भारतको विरोध भइरहेको हो । फेसबुक तथा ट्विटर प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ भन्ने ह्यासट्याग पनि प्रयोग गरेका छन ।