जनता टाइम्स

२८ असार २०७६, शनिबार २०:४७

घर पुरिँदा ओखलढुङ्गामा आमा–छोरीको मृत्यु


ओखलढुङ्गा, असार २८

पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । मोलुङ गाउँपालिका–७ पात्ले तालकोटमा आज पहिरोले घर पुरिँदा ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजीको मृत्यु भएको हो ।

घरमा बसिरहेको अवस्थामा घर माथिबाट आएको पहिरोले घरसँगै आमा–छोरीलाई पुरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । दुवैको शव स्थानीयवासीले पहिरो पन्छाएर निकालेका थिए ।

यस्तै सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा पहिरोमा परी ४५ वर्षीया कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ । उनी पहिरोले पुरिएकी थिइन् । जिल्लामा बाढीपहिरोबाट हालसम्म पाँच जनाको ज्यान गएको छ । बाढीले बगाएर शुक्रबार चिशङ्खुगढी गाउँपालिका–४ की ८५ वर्षीया पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो ।