जनता टाइम्स

२९ असार २०७६, आईतवार ०५:५२

दिल्लीमा आत्महत्या गरेकी महिला तीन दिनपछि बैंग्लोरमा जिवितै भेटिएपछि…


नयाँदिल्ली । गत जुलाइ ५ मा नयाँदिल्लीबाट एक महिला हराएपछि निकै चर्चाको बिषय बन्यो । उक्त घटना समाचारकै रुपमा सार्वजनिक भयो । कोमल तलान नाम गरेकी ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो । एक बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रुपमा कार्यरत कोमल आफ्नो कारसहित बेपत्ता भएकी थिइन ।

प्रहरीले खोजी गर्दा उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित हिन्दोन ब्रिज नजिकै पार्क गरिराखेको अवस्थामा भोलिपल्ट भेटियो । सोही कारमा थियो कोमलको सुसाइड नोट । सुसाइड नोटमा उनले आफ्ना श्रीमान र ससूराले आफूमाथि दबाव र तनाब श्रृजना गरेको भन्दै आत्महत्या गरेको उल्लेख गरेकी थिइन । कोमलका बावुले समेत छोरीलाई परिवारमा पीडा दिने गरेको प्रहरीसमक्ष बताएका थिए ।

प्रहरी टोली त्यही हिन्दोन नदीमै उनको शव खोजी गरिरह्यो । तीन दिनसम्म खटिँदा पनि प्रहरीले शव भेट्न सकेन । सोही नदीमा उनले हाम फालेर आत्महत्या गरिन् भन्ने प्रहरीको बुझाइ थियो । तीन दिनपछि भने घटनाले अर्कै रुप लियो । प्रहरीको अनुसन्धान टोलीले कोमल आफ्ना केही साथीसँग सम्पर्कमा आएको खबर पत्ता लगायो । यसपछि प्रहरी थप अनुसन्धानको लागि जयपुर पुग्यो । जहाँ उनीहरुले कोमल मुम्बइ पुगेको खबर पाए ।

जब मुम्बइ पुग्यो प्रहरी टोली, त्यसपछि फेरि कोमल बैंग्लोरमा रहेको सूचना पायो ।अन्ततः प्रहरीले दिल्लीको नदीमा ‘आत्महत्या’ गरेकी महिलालाई बैंग्लोरमा पुगेर फेला पार्यो । यो घटनालाई भारतीय सञ्चार माध्यमहरुले निकै अनौठो घटनाका रुपमा लिएका छन ।