रामेछाप, ४ बैशाख । लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कमल कडेरियालाई पराजित गर्दै काँग्रेसका केशव महत निर्वाचित हुनुभएको हो । महतले ५११२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कडेरियाले ४००८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा काँग्रेसकी सरस्वती गुरुङ खड्कालाई पराजित गर्दै एमालेकी दीपा पाख्रिन निर्वाचित हुनुभएको छ । पाख्रिनले ४१२६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी खड्काले ३९३३ मत प्राप्त गर्नुभएको छ । पाख्रीन यस अगाडि जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख हुनुहुन्थ्यो ।
लिखुतामाकोशीमा एमालेले उपाध्यक्षसहित तीन वडा, काँग्रेसले अध्यक्ष सहित दुई वडा र माओवादी केन्द्रले दुई वटा वडा अध्यक्ष जितेको छ। गाउँपालिकामा एमालेबाट वडाअध्यक्ष वडा नं १ दुरागाउँमा प्रदीपकुमार तामाङ, वडा नं २ सैपुमा सन्तोष पौडेल, वडा नं ६ खिम्तिमा शिवप्रसाद न्यौपानेसहित प्यानल नै विजयी भएको हो ।
त्यसैगरी कांग्रेसबाट वडा नं ४ बिजुलीकोटमा दिपक पुलामी मगर र वडा नं ५ नागदहमा रोमबहादुर तामाङ निर्वाचित हुनुभएको छ । वडा नं ३ बिजुलीकोटमा एकीकृत समाजवादी र माओवादीको गठबन्धनबाट माओवादी केन्द्रका गोपालराज तामाङ र वडा नं ७ तिल्पुङमा कैलासकुमार दर्लामी निर्वाचित हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्