जनता टाइम्स

२९ असार २०७६, आईतवार ०६:४७

भ्रष्टाचारीबिरुद्ध आक्रामक बन्यो अख्तियार : आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसँग आठ घण्टा बयान


काठमाडौं, असार २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातसँग अख्तियारले आठ घण्टा लामो बयान लिएको छ । बालुवाटारस्थित ललितानिवासको २९९ रोपनी सरकारी जग्गा व्यक्तिगत नाममा दर्ता प्रकरणमा मुछिएको तथ्य फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसँग ८ घण्टा बयान लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख बस्नेत निजामती कर्मचारी रहँदा गरेको बदमासीको कारण आयोगमा बयान दिनुभ.परेको हो । भूमी सुधार सचिव रहँदा बस्न्यातले सरकारी जग्ग हडप्ने सहयोगीको भूमिका निर्वाह गरेका थिए । ललिता निवासको जग्गा प्रकरण सम्बद्ध प्राप्त विवरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त दीप बस्न्यातको समेत संलग्नता पाईएको थियो । बस्न्यात निर्माण तथा भौतिक योजना मन्त्रालयको सचिव हुँदैका बखत प्रधानन्यायाधीश निवासले चर्चेको जग्गामध्ये २ रोपनी १४ आना र प्रधानमन्त्री निवासले चर्चेको २ रोपनी १० आना जग्गा समेत नापीको फिल्ड बुकमा पर्ती भनेर जनिएको कुल ३५ रोपनी जग्गामा जबर्जस्ती नक्कली मोही खडा गराउने निर्णय भएको थियो ।

सरकारी निवास तथा कार्यालयको जग्गा र सम्पत्ती तत्कालिन अवस्थामा भौतिक योजना मन्त्रालय मातहत रहेको शहरी बिकास विभाग अन्तर्गत रहने र बस्न्यात मन्त्रालयमा शहरी विकास सचिवका हैसियतमा रहेकै कारण उनकै योजना अनुसार तत्कालिन भवन विभागले उठाएको टिप्पणीका आधारमा २०६६ चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले नाराञ्चा महर्जन नामको बतासे मोही खडा गरि बालुवाटारको जग्गा विस्तार गरिएको थियो ।

स्रोतले बताए अनुसार,दीप बस्न्यातले आफु भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेकै बेला पर्ती सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषदमा पेस गरेका थिए । बस्न्यातले भवन विभागले उठाएको टिप्पणी सदर गर्दै मन्त्री परिषदमा पेश गरेको प्रस्तावमा,‘२०२१ र ०४७ सालको नापीमा सरकारी पर्ती जग्गा भनी स्पष्ट किटान गरिएको जग्गा समेत मोहीका नाममा कायम गरिनुपर्छ’ भनी उल्लेख गरेका थिए । उनले मन्त्रिपरिषदमा प्रस्तावका साथ पेस भएको नापीको फिल्डबुकमा मोही नभएको जग्गा भनी स्पष्ट उल्लेख भएको भएपनि ‘सचिवकै प्रस्तावका आधारमा त्यतिखेर मन्त्री परिषदले निर्णय गरेको थियो ।

मन्त्री परिषदको यो निर्णय आउनासाथ बस्न्यातकै दवावमा उनैले खडा गरेका नक्कली मोहीले जगामा आफ्नो हक कायम गर्नासाथ जग्गा बेचेका थिए । नक्कली मोहीका नामबाट बिक्री भएका यी जग्गा शोभाकान्त ढकालकी श्रीमती उमा ढकाल, रामकुमार सुवेदीकी श्रीमती माधवी सुवेदीका नाममा खरिद भएको देखिएको छ । उनका परिवारका सदस्यको नाममा किनिएको छ ।’ मोही नै नभएको जग्गामा बस्न्यातको प्रस्तावमा ‘नाराञ्चा महर्जन’ नामको मोही खडा गरी जग्गा दर्ता गराएको भेटिएको हो । सोही कारण अख्तियारले उनीसँग आठ घण्टा बयान लिएको हो ।