जनता टाइम्स

२९ असार २०७६, आईतवार ०९:१८

नेपालद्वारा मलेसियासामु जितका लागि १७४ रनको लक्ष्य प्रस्तुत


काठमाडौं, असार २९

विनोद भण्डारीको अर्धशतकिय पारीमा नेपालले मलेसियालाई दोस्रो टी–ट्वान्टीमा १७४ रनको लक्ष्य दिएको छ । दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टिम मलेसियालाई जितका लागि १७४ रनको फराकिलो लक्ष्य दिएको हो ।

किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २५ बलमा ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै शरद भेषवाकरले २८ बलमा ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन बनाए ।

मलेसियाका फित्रि सामले सर्वाधिक ३ विकेट लिए । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको थियो । सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो । नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ । आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।