जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १६:२९

नेपालले दुई खेल अगावै गुमायो युगान्डाविरूद्धको शृंखला


काठमाडौं, ५ जेठ । लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी–२० शृंखला दुई खेल अगावै गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपाल आजको तेस्रो टी–२० जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो ।

तर, बिहीबारको खेलमा पनि ६ विकेटको पराजयसँगै नेपालले शृंखला गुमाएको छ । ९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८।२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । युगान्डाको लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको बनाइन । यस्तै, लियोना बाब्रिए पाँच रनमा पेभेलियन फर्केकी थिइन् । यानेट एम्बाबाजी २७ रन बनाएर आउट हुँदा रिता मुसामाली ९ रन बनाएर आउट भएकी थिइन् ।

पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहिन् ।बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले १–१ विकेट लिए । यसअघि नेपालका लागि विकेट किपर तथा ब्याटर ज्योति पाण्डेले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्त्वपूर्ण इनिङ खेलेकी थिइन् ।

कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । युगान्डाका लागि फियोना कुलुमे, कोन्ची अवेको र साराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट लिएका थिए । पहिलो टी–२० मा १२ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा एक विकेटले हारेको थियो ।