जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार ००:००

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


काठमाडौं, जेठ ६ । काठमाडौंको बुढानिलकण्ठ र तारकेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जना छन् । उनीहरुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार रूपैयाँ, अमेरिकी डलर १ हजार र कौडा ६९ थान सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी तारकेश्वर नगरपालिका–५ लोलाङ्ग धितालथोक बस्ने २५ वर्षीया गिता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय ६० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।