जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १०:४२

असाममा बाढी–पहिरोः ५ सय परिवार रेलमार्गको ट्र्याकमा बस्न बाध्य


असाम, ७ जेठ । भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्र्याकमा बस्न बाध्य छन् । बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाको एउटा गाउँका मानिसहरू ट्र्याकमा बस्न बाध्य भएका हुन् । हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको थियो । बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

तिरपालमुनि अस्थायी आवासमा शरण लिएका गाउँलेहरु विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन् । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित छन् । प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित छन् । बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएका छन् । बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ ।