जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार ११:१३

कोर एरियामा बढन थाल्यो एमालेको मत, काठमाडौंको २७ नम्बर वडामा बालेनभन्दा केशव स्थापित दोब्बर मतले अगाडि


काठमाडौं, जेठ ७ । काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा दोब्बर मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार साहसँग निकै पछि पर्नुभएका एमाले उम्मेदवार स्थापितले यस वडामा फराकिलो अग्रता लिनुभएको छ ।

‘कोर एरिया’ भनेर चिनिनेमध्ये काठमाडौं २७ पनि एक वडा हो । सो वडामा अहिलेसम्म २ हजार ७ सय १७ मत गणना गर्दा स्थापितले ८ सय ४ मत पाउनु भएको छ भने नेपाली कांग्रेसकी मेयरका उम्मेदवार सिर्जना सिंहले ६ सय ९५ मत पाउनु भएको छ । सुरुदेखि नै अग्रता लिनुभएका स्वतन्त्र उम्मेदवार साहले सो वडामा तेस्रो मत पाउनु भएको छ । उहाँले ४ सय ३८ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर २९ मा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको आँखिझ्यालले ३ सय १७ मत पाउनु भएको छ ।

कोर एरियाभित्रकै अर्को वडा नम्बर २५ मा पनि स्वतन्त्र उम्मेदवार बालेन तेस्रो नम्बरमा हुनुहुन्छ । सो वडामा अर्का स्वतन्त्र उम्मेदवार सायमीको आँखिझ्यालले अग्रता लिइरहेको छ । काठमाडौं २९ मा हालसम्म १ हजार ९ सय ६५ मतको गणनामा आँखिझ्यालमा ४७३ मत परेको छ भने एमाले उम्मेदवार स्थापितले ४ सय ५२ मत पाउनु भएको छ । सो वडामा साहको २ सय ९४ मत र कांग्रेसकी सिर्जना सिंहले २ सय ६७ मत प्राप्त गर्नुभएको छ ।