जनता टाइम्स

७ जेष्ठ २०७९, शनिबार १८:३९

समातिए आठ बर्षअघिको बलात्कार घटनाका आरोपी मनोज पाण्डे


काठमाडौं, जेठ ७ । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक संस्थाका प्रमुख मनोज पाण्डे पक्राउ परेका छन । शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको हो ।

सन २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि पाण्डे पक्राउ परेका हुन ।
सो घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरिसकेको छ ।

उक्त समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहनुभएको छ । समितिले शुक्रबारबाटै अनुसन्धान सुरु गरेको छ । अहिले २४ वर्षकी ती युवती बलात्कार र यौन शोषण हुँदा १६ वर्षकी मात्र थिइन ।

प्रतियोगितामा भाग लिने, मोडलिङमा अगाडि बढ्ने सुन्दर सपना बोकेकी उनलाई प्रतियोगिताका आयोजकले होटलमा बोलाएर बलात्कार तथा पटकपटक यौन शोषण गरेपछि आफ्ना सामाजिक सम्बन्धहरू भत्किएको मात्र होइन, आत्मबल टुटेकाले औषधिको सहारा लिनुपरेको युवतीको भनाइ छ । आठ वर्ष लामो अन्तरद्वन्द्वपछि बोल्ने आँट जुटाएको पीडितले बताएकी छन ।