जनता टाइम्स

२९ असार २०७६, आईतवार ११:४१

पीडित परिवारलाई सरकारले दियो १० लाख राहत


भक्तपुर, असार २९

सरकारले जंगली जनावरको टोकाईबाट मृत्यु भएका सरोज विष्टको परिवारलाई राहत प्रदान गरेको छ । सरकारले विष्टका परिवारलाई शुक्रबारै १० लाख रुपैया राहत प्रदान गरेको हो । भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं ७ मा गत भदौमा जङ्गली जनावरको टोकाईबाट विष्टको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय भक्तपुर र सुर्यविनायक नगरपालिकाले सो रकमको चेक हस्तान्तरण गरेको हो ।

विष्टको परिवारलाई वन्यजन्तु क्षती राहत सहयोग निर्देशिका अनुसार उक्त रकम प्रदान गरिएको हो । मृतकका परिवालाई राहत स्वरुप चेक प्रदान गर्दै सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापाले जङ्गल छेउछाउमा बस्ने स्थानीयहरुलाई होसियार भइ हिड्न आग्रह गर्नुभयो ।

जनावरलाई लखेट्ने र जिस्काउने गर्दा जनावरले आक्रमण गर्न सक्ने भन्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेम प्रसाद खनालले १४ प्रकारका वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने व्यक्तिलाई निर्देशिकामा उल्लेख भएअनुसार मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैया प्रदान गरिएको बताउनुभयो ।