जनता टाइम्स

२९ असार २०७६, आईतवार १३:२२

भारतको बदमासीले डुवानमा पारेको रौतहटको अवस्था दर्दनाक : पानीको सतह घटेपछि फेला पर्यो पाँच शव


गौर असार २९ । तीन दिनदेखि डुबानमा परेको रौतहटको गौर नगरपालिकासहित आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि पाँच जनाको शव फेला परेको छ। भारतले बाँधको ढोका खोल्न नमानेपछि डुवानमा परेको रौतहट सदरमुकाम गौरसहित आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै मृतकको शव फेला परेको हो ।

प्रहरीका अनुसार यमुनामाइ गाउँपालिकाकी गायत्री देवी, इशनाथ नगरपालिका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका बिरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत र उमेश राउतको शव फेला परेको छ । त्यस्तै गढिमाइकी आनन्दी देवी र इशनाथका रामपुकारको अहिले सम्म वेपत्ता छन्। भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीका अनुसार ढोका खोलेसँगै अहिले८० प्रतिशत पानी घटेको छ। लाल बकैया र बागमतीको बाँध भत्केपछि गौरनगरपालिकासहित दर्जन बढी गाउँमा बाढी पसेको थियो।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार भन्दा बढी घरमा क्षति पुर्याएको छ। बाढीबाट बिस्थापित सबैलाई सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा राखिएको छ। तर बाढीका कारण अधिकांस बाढीपीडितको अवस्था दर्दनाका बनेको छ। भारतले बाँध नखोल्दा रौतहटमा यो बिपत्ति आएको हो ।