जनता टाइम्स

९ जेष्ठ २०७९, सोमबार ०७:५५

जो वडाध्यक्षबाट पालिकाकै प्रमुख-उपप्रमुख बने


खोटाङ, जेठ ९ । बैशाख ९ अघिसम्म खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका लोकेन्द्र राई वडाध्यक्षको भूमिकामा हुनुहुन्थ्यो । गाउँपालिका अध्यक्षमा उठ्ने भएपछि उहाँले ९ वैशाखमा पदबाट राजीनामा दिनुभयो । गाउँपालिकाको ३० वैशाखमा सम्पन्न निर्वाचनमा उहाँ नेकपा एमालेकातर्फबाट अध्यक्षमा निर्वाचित हुनुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पाँच वर्ष वडाध्यक्ष बनेर काम गर्नुभएका राईको भूमिका थप फराकिलो बनेर फेरिएको हो ।

पाँच वर्ष जनप्रतिनिधिका रूपमा काम गर्नेक्रममा लोकेन्द्रले आफ्नो भूमिकालाई बृहत् बनाउने अभ्यास गर्नुभयो । वडाबाट सिंगो पालिकाको नेतृत्व गर्ने क्षमताको विकास गर्नुभयो । फलतः उहाँ यसपल्ट वडाध्यक्षबाट गाउँपालिका अध्यक्षमा फड्को मार्न सफल हुनुभएको छ । जिल्लाका १० पालिकाका ७९ वडामा निर्वाचित वडाध्यक्षमध्ये उहाँ पालिका प्रमुखमा विजयी हुने एक मात्र वडाध्यक्ष बन्नुभएका छ । गाउँपालिकाको नेतृत्वमा पुगेपछि संघीयताको मर्म अनुसार वडालाई शक्तिशाली बनाउने उहाँको योजना छ ।

‘सिंहदबारको अधिकार गाउँमा अझै आइपुगेको छैन । म गाउँ–गाउँमा सिंहदबारबाट पुर्‍याउने प्रयास गर्नेछु । श्रोत साधन वितरण गरेर वडालाई अधिकार सम्पन्न बनाउने छु,’ राईले भन्नुभयो, ‘वडा शक्तिशाली भए मात्र गाउँपालिका मजबुत हुन्छ । स्थानीय तहलाई सुन्दर बनाउने छु, । विकृति र विसङ्गतिको अन्त्य गर्ने छु । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउने छु ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सँगै वडाध्यक्ष चुनिएका कतिपय जनप्रतिनिधि पुनः वडाध्यक्षमै दोहोरिए । कोही टिकट नै नपाएर नेतृत्वलाई धारे हात लाउँदै वडाध्यक्षबाट बिदा भए । कतिपय पराजित भए । तर हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका निवर्तमान वडाध्यक्ष रमेश राउत उपमेयरमा उक्लिनु भएको छ । राउत लगायतका जनप्रतिनिधिले बिहीबार निर्वाचन अधिकृतको कार्यालयबाट विजयी भएको प्रमाण–पत्र लिनुभएको छ ।

दुर्छिमदेखि हलेसीसम्म विजय र्‍याली निकाले । वडाध्यक्षका रूपमा सेवा गर्ने क्रममा उहाँले आफ्नो भूमिकालाई फराकिला बनाउँदै लगे, नगरपालिका हाँक्ने आँट र साहस जुटाए । पाँच वर्षमा उपमेयरमा दाबी गर्ने हैसियत बनाए । नगरपालिकाको मुहार फेर्ने योजना सहित कार्य प्रारम्भ गर्ने राउत बताउँनु हुन्छ । यस्तै, स्थानीय तहको निर्वाचनले बराहपोखरी गाउँपालिका–४ फाक्टाङका निवर्तमान वडाध्यक्ष भुवलराज राईको भूमिका फेरिएको छ । गठबन्धन नेकपा एकीकृत समाजवादीका तर्फबाट उहाँ गाउँपालिकाका उपाध्यक्ष चुनिनु भएको छ ।

पार्टीले कारबाही गर्ने चेतावनी दिँदादिँदै ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले गाउँपालिका अध्यक्षमा बागी उम्मेदवारी दिनुभयो । कांग्रेसका गाउँपालिका सभापति तामाङ विजयी त हुनुभएन तर गठबन्धनका उम्मेदवार हराउन सफल हुनुभयो । त्यसको फाइदा एमालेका गिरेन्द्रबहादुर राईले उठाउनुभयो । तामाङका कारण गठबन्धनका उम्मेदवार श्रीबहादुर राई पराजित हुनुभयो । तामाङले १००७ मत पाउनु भएको छ । गिरेन्द्रबहादुरले २६०६ मत पाउँदा श्रीबहादुरले २४८० मत पाउनु भएको छ ।