जनता टाइम्स

२९ असार २०७६, आईतवार १७:१८

बाढी–पहिरो अपडेट : ६० जनाको मृत्यु, २६ अझै बेपत्ता


काठमाडौं, असार २९ । लगातारको अबिरल वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाउनेको संख्या निकै बढन थालेको छ । गृह मन्त्रालयका अनुसार अहिलेसम्म बाढी, पहिरो र डुवानका कारण ६० जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले अपरान्ह केहीबेर अघि ५ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढी पहिरोमा परी ३६ पुरुष र २४ महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बाढी पहिरोमा परी ३८ जना घाइते भएका छन । उनीहरुको बिभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ । यसैगरी बाढी पहिरामा २६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै सुरक्षा निकायले अहिलेसम्म एक हजार ४४४ जनाको सकुशल उद्धार गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म बाढी पहिरोमा परी प्रदेश एकमा सत्र, प्रदेश दुईमा सात, प्रदेश तीनमा बाह्र, प्रदेश पाँच र छमा दुई­दुईको ज्यान गएको छ । यसैगरी उपत्यकाको दुई जिल्ला काठमाडौं र ललितपुरमा आठ गरी ६० जनाको ज्यान गएको हो । उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन । प्रदेश १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुंगामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ । यस्तै प्रदेश २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ । प्रदेश ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको छ ।

यसैगरी प्रदेश ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँ र ललितपुरमा एक­एक जना बेपत्ता भएका छन । यस्तै प्रदेश १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना बेपत्ता भएका छन । प्रदेश २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन । यस्तै प्रदेश ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । यस्तै प्रदेश ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढी पहिरोमा परी उपत्यकामा पाँच, प्रदेश १ मा आठ, प्रदेश ३ मा १२ जना घाइते भएका छन । प्रहरीका अनुसार बाढी पहिरोमा फसेका उपत्यकाबाट १९४ जना, प्रदेश १ बाट १२ जना, प्रदेश २ बाट ८२७ जना, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरिएको छ । सुरक्षा निकायले अहिले पनि पीीडतको उद्धारकार्य जारी राखेको छ । सरकारले बाढी पीडितको उद्धार तथा राहतमा कुनै कमजोरी हुन नदिन निर्देशनसहित सुरक्षाकर्मी खटाएको छ । कतिपय ठाउँमा स्थानीय राजनीतिक नेता कार्यकर्तासमेत उद्धारमा खटिएका छन ।