जनता टाइम्स

२९ असार २०७६, आईतवार १९:१७

मेलम्चीको पानी ल्याउन नदिन लाग्यो कांग्रेस : देउवाकै नाम लिएर वडाध्यक्षले रोकाए सुन्दरीजलमा काम


काठमाडौं, असार २९ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडाध्यक्ष राम मानन्धरका कारण सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको काम रोकिएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मानन्धरले पार्टी सभापति शेरबहादुर देउवाको नाम लिँदै पार्टी केन्द्रको निर्देशन भन्दै आफ्ना कार्यकर्ता खटाएर काम गरिरहेका मजदुरलाई भडकाएपछि आजबाट सुन्दरीजलमा मेलम्चीको काम रोकिएको हो । वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका कांग्रेस कार्यकर्ताहरुले त्यहाँ कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि मेलम्ची आयोजनाको काम रोकिएको हो ।

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्दा बर्तमान सरकारले जस पाउने भएपछि सो आयोजना अघि बढन नदिन कांग्रेसले पटक पटक षडयन्त्र गर्दै आएको छ । मेलम्ची खानेपानी विकास समितिले मजदूरहरुलाई काम गरेको पैसा भुक्तानी दिने प्रक्रिया अघि बढाईरहेको सन्दर्भमा अचानक काम रोकिन गएकोमा दुःख व्यक्त गरेको छ ।

मेलम्ची खानेपानी आयोजना विकास निर्माण उपभोक्ता समितिले आयोजनाको काम रोक्न कांग्रेस वडाध्यक्षले मुख्य भूमिका खेलेको आरोप लगाएको छ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी आउन नदिन कांग्रेसका केही स्थानीय व्यक्तिहरु सक्रिय भएर लागेको आरोप उपभोक्ता समितिले लगाएको छ । अहिले काम नगर्नु भनेर मजदूरहरुलाई उचालेर आयोजनाको काम रोकिएकोमा समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भईरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले काम गरिरहेको थियो । ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई समेत काम नगर्नु भनेर स्थानीय केही कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका थिए ।