जनता टाइम्स

३० असार २०७६, सोमबार १२:३१

जलवायु परिवर्तनकै कारण अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ : प्रधानमन्त्री ओली


काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन, अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताउनुभयो । “जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन, आवास तथा संरचनाको क्षति भइरहेको छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।”

“हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ ।”

सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिनुभएको छ ।

“त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।”