जनता टाइम्स

३० असार २०७६, सोमबार १६:५१

इन्स्पेक्टरपीडित जवानको बयान : टाउको जोगाउँदा ढाडमा कुटियो, त्यसपछि बेहोस भएछु


विराटनगर, असार ३० । सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सियाराम चौधरीले प्रहरी जवानलाई बेहोस हुने गरी कुटपिट गरेको तथ्य सार्वजनिक भएको छ । इन्पेक्टर चौधरीको कुटाईबाट घाइते प्रहरी जवान विजयकुमार यादव अस्पताल भर्ना भएपछि यो घटना बाहिर आएको हो । इन्सपेक्टर चौधरीले गत बुधवार जवान यादवलाई बेहोस हुने गरी कुटपिट गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वार्टर सिरहामा कार्यरत निरीक्षक चौधरीले त्यहीँ कार्यरत सप्तरीको शम्भुनाथ नगरपालिका–१ घर भएका जवान ३२ वर्षीय यादवमाथि गत बुधबार निर्घात कुटपीट गर्नुभएको हो । हाकिमको कुटाईबाट घाइते भएका यादवको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सोनुकुमारीसँगको सम्बन्ध विच्छेदको मुद्दा सप्तरी जिल्ला अदालतमा चलिरहेका बेला आफूमाथि कुटपिट गरिएको यादवले जानकारी दिनुभयो । पाँच वर्षअघि बिहे गरेका यादव दम्पतिका ३ वर्षीय छोरी पनि छन् । यादवका अनुसार प्रहरी निरीक्षक चौधरीका अनुसार गत बुधवार बिहान ७ बजे १५ मिनेट जति लगातार बुट र मुक्का प्रहार गर्नुभएको थियो ।

‘आक्रमणमा टाउको जोगाउन थाल्दा ढाडमा कुटियो, त्यसपछि बेहोस भएछु,’ बिराटनगरका पत्रकार किशोर बुढाथोकीसँगको कुराकानीमा पीडित जवान यादवले भन्नुभएको छ । एक जना जवानलाई बोलाएर ल्याउन लगाएर आफूमाथि कार्यालयकै गेटमा सबैका अगाडि कुटपिट गरिएको यादवले बताउनु भयो । नोवेल अस्पतालका चिकित्सक डा. मनोजकुमार यादवले घाइते सशस्त्रका जवान यादवको टाउको र छात्तीमा चोट रहेको तथा कानको जालीमा पनि केही समस्या देखिएको जानकारी दिनुभयो । घाइते यादवका अनुसार कुटपिटपछि सशस्त्रका असई कामेश्वर यादव र जवान पेशल थापाले उपचारका लागि नोवल अस्पताल लिएर आएका थिए ।

‘दुवैजना मिलेर कुटपिट गरेको कुरा कोही कसैलाई नभन्नु भन्न थाले, यो घटना बाहिर ल्याउनु पर्छ भन्दा मलाई अस्पतालमै छाडेर दुवैजना हिँडे,’ यादवले भन्नुभयो । यादवलाई कुरेर अस्पतालमा अहिले बुवा सुदिनलाल यादव र भान्जा अर्जुनकुमार यादव बस्नुभएको छ । पिता सुदिनलालले छोरामाथि अनाहाकमा इन्सपेक्टरले कुटपिट गरेको कुरा सशस्त्रले गुपचुप राख्न खोजेको आरोप लगाउनु भयो । उहाँले ड्युटीमा रहेको छोरोमाथि कुटपिट गर्नेलाई कारबाही हुनुपर्ने माग गर्नुभएको छ ।