जनता टाइम्स

३१ असार २०७६, मंगलवार ०८:३१

न्यूयोर्कमा झ्याप्पै बत्ति गएपछि…


न्यूयोर्क, असार ३१ । चौबिसै घण्टा झलमल्ल रहने न्यूयोर्क सहरमा शनिबार साँझ जब झ्याप्प बत्ति निभ्यो। मानिसहरूको कोलाहल मच्चियो। ‘ओ माइ गड, ह्वाट्स गोइङ अन’ भन्दै मानिसहरु एकाएक सडकमा निस्किएर चिच्च्याउन थाले। सधै ज्यालो हुने म्यानहाटनमा रहेको टाइम स्वायर सडकमा निस्किएर एक स्वरमा कराउन थाले।

मान्छेहरू अतालिए। घरभित्र बसिनसक्नु तातो। बाहिर ९० फरेनहाइट तापक्रमले तातेको सडक। सडकभर प्रहरी तैनाथ देखिन्थे। ट्राफिक लाइट बन्द हुँदा सवारी चाप बढ्दो थियो। दायाँ बायाँ गर्ने सवारी कसरी जाने अन्यौलमा थिए। घर भन्दा ठूला टेलिभिजन जस्ता देखिने पर्दाहरू एकाएक काला भए। ३६५ दिन नै झलमल्ल देखिने म्यानहाटनमा रहेको टाइम स्वायर एकाएक अन्धकार हुँदा पर्यटक अच्चमित थिए। रेल सेवा समेत केही बेर अवरुद्ध भयो। मान्छेहरू ट्रेन र एलिभेटरमा थुनिए।

अन्नपुर्ण पोष्टका न्यूयोर्क समाचारदाता पत्रकार अनिल अधिकारीका अनुसार ठूलठूला ब्यापरिक भवन एकाएक काला देखिए। प्रहरीलाई सवारी र मान्छे हिँड्ने तारतम्ये मिलाउन हम्मेहम्मे पर्‍यो। आगो नियन्त्रण विभागका सवारीहरू केही मिनेटमै सेवाका लागि लाइनमा बसेका देखिए। मान्छेहरू समय कटाउन एक साथ जम्मा भएर गीत गाउन थाले।

शनिबार साँझको दृष्य हो यो। साँझ करिब ७ बजेतिर न्यूयोर्कको मध्य म्यानहाटन र माथिल्लो पश्चिम भागमा अचानक विद्युत आपूर्ति अवरोध हुँदा हाहाकार मच्चियो। समयानुकूल तातो चिसोमा बस्ने बानी परेका अमेरिकनहरू झ्याप्प बत्ति जाँदा अतालिएका हुन्। विद्युत आपूर्ति गर्ने कोन एडिसन कम्पनीका अनुसार शनिबार करिब ७२ हजार घरमा विद्युत आपूर्ति बन्द भयो।

अमेरिकन नागरिक एन्जल भन्छन्, ‘म ३४ वर्षको भएँ। अहिलेसम्म यसरी अन्धकार भएको देखेको सुनेको थिइनँ। आज घरमा अचानक बत्ति जाँदा म अतालिएँ। कहाँ जाउँ कहाँ जाउँ भयो। चलिरहेको एसी अचानक बन्द हुँदा म घरभित्र बस्ने अवस्था थिएन। त्यसैले सडक छेउमा आएर बस्न बाध्य छु।’ एन्जल जस्तै अर्का टोनी नाम गरेका अमेरिकन पनि अतालिएका थिए। उनी ट्याक्सी चढेर साथीको घर (अर्को सहर) मा जाने तयारी गर्दै थिए। किनकि घरमा कति बेला आउँछ पत्तो थिएन।
केही बेरमै सरकारी धारणा आयो हामी तीव्रस्तरमा काम गरिरहेका छौं। छिट्टै समाधान गर्छौँ। न्यूयोर्क सहरका मेयर बिल ब्लाजियोले सामाजिक सञ्जालमा लेखेर आफ्ना नागरिकलाई सम्झाउँदै थिए, ‘ट्रान्सफर्मरमा आगलागी भएका कारण अन्धकार भयो। हामी काम गरिहेका छौं। समाधान खोजिरहेका छौं।’ आगो नियन्त्रण विभागलगायत अन्य सरकारी निकायले समेत तत्कालै जनतालाई फेसबुक, ट्‍वीटरबाट आश्वस्त पार्दै थिए। यसअघि अमेरिकाको न्यूयोर्कमा सन् १९७७ जुलाई १३ कै दिन विद्युत आपूर्तिमा अवरोध भएको थियो।