जनता टाइम्स

२२ जेष्ठ २०७९, आईतवार १४:३८

भारतीय गायक केकेको निधनको कारण मायोकार्डियल इन्फ्रयाक्सन


मुम्बई, २२ जेठ । केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ ।

रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुटुबाट रगत पम्पिङ प्रभावित भएको थियो । यही कारण कोरोनरी धमनीमा पनि रोकावट आएका थियो । कोलकाता प्रहरीले पनि गायकको अप्राकृतिक मृत्युको सम्बन्धमा प्रारम्भिक उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरेको छ ।

‘तर, प्रारम्भिक र अन्तिम पोस्टमार्टम रिपोर्टसँगै रासायनिक विश्लेषणपछि अब अप्राकृतिक मृत्युको सिद्धान्तलाई अस्वीकार गरिएको छ,’ नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले भन्नुभएको छ । गत मंगलबार साँझ गायक केकेले दक्षिण कोलकाताको नजरुल मञ्चमा प्रस्तुति दिइरहँदा अस्वस्थ हुनुभएको थियो । त्यसपछि उहाँलाई अस्पताल लैजादा मृत्यु भएको थियो ।