जनता टाइम्स

३१ असार २०७६, मंगलवार १८:४४

यसरी बन्छ राष्ट्रपति–प्रधानमन्त्रीबिरुद्ध फेक समाचार : एउटा तस्विर ओझेलमा पार्न ट्वाइलेटमा फोटोसेशन


गणेश बस्नेत

प्रतिक्रियावादीले नेता–नेतामा कुरा लगाएर दिमाग खराब गर्छन, फुटाउन खोज्छन, हाम्रो पार्टी एकताको सवालमा पनि त्यही गरिरहेका छन । तर पनि हामी एक भएका छौं जनताले दिएको बहुमत नै हाम्रा लागि शिक्षा हो, हाम्रो तागत एकतामा छ : पुष्पकमल दाहाल, प्रचण्ड, अध्यक्ष नेकपा

जबसम्म संसारमा कम्युनिस्टहरूको अन्तिम विजय हुँदैन, पार्टी विरोधी, दुश्मनका एजेण्ट वा उनीहरूका विभिन्न खुफिया एजेन्सीहरूले त्यसप्रकारको धन्दा लगातार चलाइरहन्छन् । यस सिलसिलामा हङकङको एउटा एजेन्सीको कार्यबिधि उल्लेखनीय छ । त्यसको मुख्य काम नै चीनको पार्टी वा माओत्सुतुङबारे लगातार नयाँ नयाँ भ्रामक समाचारहरूको सिर्जना गरेर प्रचार गरिरहनु हुन्थ्यो । एउटा त्यसप्रकारको समाचार सेलाएपछि त्यसले पुनः नयाँ भ्रामक समाचारको रचना गरेर प्रचार गर्दथ्यो । पार्टी विरोधी, दुश्मनका एजेन्ट वा खुपिया एजेन्सीहरूले लगातार त्यसप्रकारको कार्य गरिरहेका हुन्छन् । नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा पनि त्यसप्रकारको कार्य लगातार हुने गरेको छ : मोहनबिक्रम सिंह, महामन्त्री, नेकपा (मसाल)

माथिका तस्विर अनि नेपाली कम्युनिस्ट आन्दोलनका शीर्ष नेता प्रचण्ड र सिंहको भनाई यतिबेला नेपालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अनि राष्ट्रपति बिद्यादेवी भण्डारीमाथि भइरहेको अफवाहले ठ्याक्कै पुष्टि गर्छ । अर्थात नेपालमा कम्युनिस्ट पार्टीकी नेतृ राष्ट्रप्रमुख, कम्युनिस्ट पार्टीका नेता कार्यकारी प्रमुख र कम्युनिस्ट पार्टीको बलियो सरकारबिरुद्ध बिदेसी खुफिया एजेन्सीहरुको योजनामा सुनियोजित आक्रमण भइरहेको प्रष्ट हुन्छ ।

राष्ट्रप्रमुख र सरकार प्रमुखले गरेका हरेक राम्रा काम छाँयामा पार्दै भ्रमपुर्ण समाचार समाजमा प्रेसित गर्न ठुलै योजना रहेको छ भन्ने मुलधारका मिडियामा आएको केही समाचार र सम्पादकीयले नै प्रष्ट गर्छ । कान्तिपुर दैनिकमै ‘शीतलनिवासको साख’ शीर्षक राखेर सम्पादकीय लेखिएको छ । अर्थात राष्ट्रप्रमुख र सरकारको बिरुद्ध मिसन पत्रकारिता चलाइरहनुभएको छ नेपाली कांग्रेसको चुनावी अभियन्ता एवं पत्रकार नारायण वाग्ले । सम्पादकीयको हेडलाइन नै राष्ट्रप्रमुखले गर्नुभएको सकारात्मक काम आम नागरिकको मनमा बस्न नदिने प्रष्टै मिसन राखेपछि थप पढिरहनु परेन । नारायण वाग्लेले सम्पदकीय लेखेकै दिन त्यही मिसन अन्तर्गतनै राष्ट्रपति कार्यालयमा ट्वाइलेटमा बसेर ‘नायक सरोज खनाल’ ले फोटो खिचिएको तथ्य बाहिर आयो ।

यस्ले राष्ट्रपति, प्रधानमन्त्री, सरकार र नेकपाबिरुद्ध नियोजित समाचार निर्माणको कारखाना नेपालमा चलाइएको छ भन्ने प्रष्ट प्रमाण दियो । त्यो कारखानामा नारायन वाग्ले दाई जस्ता नेपाली कांग्रेसका होनाहार कार्यकर्ता लागेको प्रष्टै देखियो । त्यो समुहले हरेक समय राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्ध अभियान छेडिरहेको छ । त्यो समुहले प्रधानमन्त्री केपी शर्मा ओली त्रिबिको सभामा पुग्दा रातो प्लाइउडलाई रातो कार्पेट बनाइ दियो । हिलोमा रातो कार्पेट बिच्छ्याइन्न भन्ने सामान्य हेक्कासमेत नराखी समाचारको हेडलाइन बनाइयो, ‘हिलोमाथि रातो कार्पेटमा प्रधानमन्त्री ।’ त्रिबिका उपकुलपति डा तीर्थ खनियाले नै यस्को भण्डाफोर गरिदिनुभयो । त्यो समुह थचक्कै बस्यो ।

ठीक त्यहीबेला राष्ट्रपति बिद्यादेवी भण्डारीको तस्विर सार्वजनिक भयो, जस्ले आम नागरिकको मन जित्यो । राष्ट्रपति बिद्यादेवी भण्डारीको त्यो तस्विर थियो, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालको साथमा । तस्विर आफै बोल्यो– राष्ट्रप्रमुख आफै छाता ओढेर कार्यक्रमस्थलतिर गइरहनु भएको थियो । गभर्नर नेपाल चाँहि राष्ट्रप्रमुख आफै छाता ओढेर जाँदा सुरक्षा गार्डलाई छाता ओढाउन लगाएर आफ्नो सामन्ती रुप प्रदर्शन गरिरहनुभएको थियो । राष्ट्रप्रमुख भण्डारी कम्युनिस्ट पार्टीको नेतृ हुँदै सो पदमा पुगेको ब्यक्ति हुनुहुन्छ, गभर्नर नेपाल नेपाली कांग्रेसको कार्यकर्ताका रुपमा त्यँहा पुग्नुभएको छ । सामाजिक सञ्जालमा यो तस्विर आएपछि राष्ट्रपति बिद्यादेवी भण्डारीको निकै प्रसंशा भयो ।

राष्ट्रपतिको कटु आलोचना गर्दै आउनु भएकी नेकपाकै नेतृ रामकुमारी झाँक्रीले सोही फोटो राखेर फिलङ प्राउड भन्दै स्ट्याटस लेख्नुभयो, ‘दिदीले यो कुरा बुझ्नु भएछ जस्तो लाग्छ ऐले । एक जनताकी छोरीको रूपमा विधा भण्डारी नै भएको हेर्न मन हुन्छ जनतालाई ।’ झाँक्रीको त्यो स्ट्याटसपछि धेरैले सो फोटो शेयर गरे । राष्ट्रपतिको कदमलाई सह्रानीय भने । हरेक कुरामा राष्ट्रपतिमाथि बिषबमन गर्ने महिला अधिकारकर्मी पनि उहाँको यस तस्विरसामु नतमस्तक भए । नेकपाका नेता कार्यकर्ताका लागि आफ्नो प्रिय नेतृका रुपमा रहनुभएकी राष्ट्रपतिको यो तस्विरले नछुने कुरै भएन ।

उनीहरुले सामाजिक सञ्जालमा ‘मेरो राष्ट्रपति, हाम्रो राष्ट्रपति भनेको यस्तै हो, क्यावात महामहिम’ भन्दै उच्च सम्मान दिए । आलोचकहरु पनि प्रसंशामा उत्रिए । उनीहरुको एउटै कारण थियो, हाम्रो राष्ट्रपतिले गल्ती गर्नुहुन्न, जनताको भावना बुझ्नुभएको छ ।’ हुन पनि नेपाल राष्ट्र बैंकको भवन शिलान्याशमा जाँदा राष्ट्रपतिलाई छाता ओढाउन उहाँका सुरक्षा गार्ड तयारी अवस्थामा थिए । राष्ट्रपति आफैले छाता माग्दासमेत निकै आनाकानी गरेका सुरक्षाकर्मीले उहाँकै आदेशमा छाता थमाए । तर उहाँको स्वागतमा आउनुभएका गभर्नर नेपालले यो कुरा सिक्न सक्नुभएन । सामाजिक सञ्जालमा वाहावाही भयो राष्ट्रपतिको । परिवर्तनपछि पनि आफूलाई परिवर्तन गर्न नसक्नेहरुका लागि राष्ट्रपति भण्डारीको सन्देश थियो त्यो छाता प्रकरण । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रअनुसारको ब्यवहार सवैमा होस भन्ने सन्देशसहित सुरक्षाकर्मी नमान्दा नमान्दै आफै छाता ओढेर कार्यक्रमस्थल पुग्नुभएको थियो ।

सामाजिक सञ्जालमा वाहावाही भएपछि नेपालको स्थिरता र बिकाश नचाहेको एकाध एजेण्टहरुलाई खपिनसक्नु भयो । तिनीहरुले सामाजिक सञ्जालमै जावाफ फर्काए, ‘यति सानो कुरामा पनि के को वाहावाही ।’ उनीहरुको यो भनाईबाट सहजै बुझिन्थ्यो, ‘राष्ट्रप्रमुखलगायत संबैधानिक अंगमा रहेकाहरुको राम्रो काम बाहिर ल्याउनु हुन्न, नभएको अफवाह फैलाउनु पर्छ । उनीहरु राष्ट्रप्रमुखको राम्रो काम छाँयामा पार्न नयाँ भ्रामक समाचारको खोजीमा थिए । कसरी भ्रमपुर्ण समाचार फैलाउने ? यही सोचिरहेको बेला शीतलनिवासमा चलचित्रकर्मी सम्मानको कार्यक्रम भयो ।

त्यही कार्यक्रममा ट्वाइलेटमा गएर फोटो सेसन गर्दै राष्ट्रपतिबिरुद्ध जनतामा भ्रम फैलाउने काम भयो । त्यस्को मोहोराका रुपमा प्रस्तुत हुनुभयो नायक सरोज खनाल । लामो समय अमेरिका बसेर काम गरेका खनालले फोन आउँदा ट्वाइलेटमा बसेर घन्टौं बिताउने गरेको तथ्य आजमात्रै अमेरिकामा रहेका समाजसेवी प्रभु थापाले सार्वजनिक गर्नुभएको छ । अमेरिकामा रहेका अन्य नेपालीले पनि यस बिषयमा आफ्नो धारणा राखिरहेका छन । अर्थात आफै समाचार उत्पादन गर्ने कारखानाले यसरी बिदेसी योजनामा जनतालाई भ्रमित पारिरहेको छ ।

यस्तो थियो यथार्थ

चलचित्र विकास बोर्डले असार २७ गते राष्ट्रपति भवन, शितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान वितरण समारोह आयोजना गर्यो । त्यो पुरस्कारको दावेदार हुनुहुन्थ्यो नायक सरोज खनाल । उहाँको नाम परेन । पुरस्कार नपाए पनि खनाल शितलनिवाश पुग्नुभयो । १६ वर्ष अमेरिकामा बसेर नेपाल फर्किनुभएका अभिनेता सरोज खनालले त्यसदिन राष्ट्रपति भवनको ट्वाइलेटमा बसेको फोटो खिचेर सार्वजनिक गर्नुभयो । कम्बोडमाथि दौरा सुरुवालमा सजिएर सार्वजनिक गरेको फोटोबाटै सुनियोजित छ भन्ने प्रमाण देखिन्छ । त्यो फोटो आफैले सेल्फी लिएको पनि देखिदैन । उनले कतैबाट निर्देशित भएर नै त्यो काम गरे कि पुरस्कार नपाएको झोंक फेरे, तर फेक समाचार उत्पादन गर्ने कारखाना चलाएकाहरुका लागि ठुलै हतियार बन्यो, राष्ट्रपतिबिरुद्ध मिसन चलाउने ।

‘सम्मानित हुने र सम्मान गर्ने त सोफामा बसेका थिए । तर, प्रस्तुति दिने ३५ जनालाई ८ बाइ १० को कोठामा कोचेर राखे । म चाँही ट्वाइलेटको कमोडमा बसेर आफ्नो पालो पर्खी बसें । के गरूँ आफ्नै क्षेत्रको दुर्दशा, दर्शकलाई देखाएर आफ्नै बेइज्जत हुन्छ र सेयर गरिनँ । तर, मनको बह कसैलाई कह भन्छन् त्यसैले आइ सेयर विथ यु’, भन्दै नायिका करिश्मा मानन्धरको स्टाटसमा खनालले पोष्ट गर्नुभयो । खनालले त्यो फोटो पालो कुर्न होइन, साथी बोलाएरै खिच्नुभएको थियो । यो तस्विरले प्रष्टै भन्छ ।

राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटोसेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रूपमै खिचिएको थियो भन्ने तस्विरमा देखिएको मुस्कान अनि पोजिशनले नै बताउँछ । कार्यक्रम सुरु हुनुअघि र पछि पनि नृत्य प्रस्तुत गर्ने सम्पूर्ण कलाकारलाई कुनै असुविधा नहोस आयोजकले बोर्डका अधिकृत तहका चारसहित १० जना कर्मचारी कलाकारको सेवामा खटाएको थियो । सो क्रममा कर्मचारी पनि कलाकारसँगै प्रतीक्षा कक्षमै थिए । पुरस्कार समारोहमा सुरुमै १२ मिनेटको नृत्य प्रस्तुति गरियो । नृत्य प्रस्तुत गर्नुभन्दा आधा घण्टा अघि तयारीका लागि कलाकार मञ्चको विमुख कक्षसँगै विभिन्न स्थानमा बस्ने व्यवस्था मिलाइएको थियो । अभिनेता खनालले सो क्रममा आफूलाई असुविधा भयो भनेर कसैलाई भन्नुभएन । तर राष्ट्रप्रमुखबिरुद्ध एकाएक आफै फेक समाचार उत्पादन गर्ने खलपात्र बन्नुभयो ।

राष्ट्रप्रमुखको भुमिकामा दोस्रो पटक शीतलनिवाश प्रवेश गरेलगत्तैबाट राष्ट्रपति भण्डारीबिरुद्ध बिषबमन हुँदै आएको छ । यो पछिल्लो प्रकरण पनि फेक समाचार उत्पादन गर्ने कारखानाकै योजनामा भएको हो भन्नेमा अव भ्रम रहेन । अर्थात तस्विरको बिरुद्ध तस्विर नै प्रयोग भयो । जनताले वाहावाही गरेको तस्विरले बनाएको छवी बिगार्न राष्ट्रपतिसँग साइनो सम्बन्ध नै नरहेको बिषयमा फोटो राखेर जनता भडकाउन खोजियो । यो डिजाइन अन्तै बनेको थियो, बिचरा सरोज खनालले पत्तै पाएनन । भए गोटी बनेर आफै बने बदनाम ।