जनता टाइम्स

३१ असार २०७६, मंगलवार २०:११

नेकपाको एकताले पायो पुर्णता : कार्यबिभाजनदेखि बिभाग गठनसम्म भयो यस्तो सहमति


एकताको बाँकी काम टुंगो लगाउन अध्यक्ष ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र इश्वर पोखरेलसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले पनि नेताहरुबीच बिवाद नहोस भनेर परामर्श गर्नुभएको थियो । सवै नेताको सुझावअनुसार आज ओली र प्रचण्ड सहमतिमा पुग्नुभएको हो

काठमाडौं, असार ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताले पुर्णता पाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच आजको बैठकमा सहमति जुटेसँगै एकता भएको १४ महिनापछि नेकपाको एकताले पुर्णता पाएको हो ।

आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई सहयोगी नेतासहितको अध्यक्षद्वयको बैठकमा केन्द्रीय सदस्यको कार्यबिभाजनमासहमति जुटेको हो । एकताको बाँकी काम टुंगो लगाउन अध्यक्ष ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम र इश्वर पोखरेलसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको थियो भने अर्का अध्यक्ष प्रचण्डले पनि नेताहरुबीच बिवाद नहोस भनेर परामर्श गर्नुभएको थियो । सवै नेताको सुझावअनुसार आज ओली र प्रचण्ड सहमतिमा पुग्नुभएको हो ।

आजको बैठकमा महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासमेत सहभागी हुनुभएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डबीचको सहमति सचिवालय बैठकबाट पारित भएपछि औपचारिकता पाउने छ । सचिवालयबाट भएको निर्णय केही समयपछि नै स्थायी समिति बैठक र केन्द्रीय कमिटी बैठकमा पेश गरिने छ ।नेकपाका महासचिव पौडेलले दुई अध्यक्षबीच सबै विषयमा साझा धारणा बनिसकेकोले अब सचिवालय बैठक बसेर अन्तिम निर्णय हुने जानकारी दिनुभयो ।

पौडेलका अनुसार कार्यबिभाजन केन्द्रीय निकाय, बिभाग, बिशेष कमिटीलगायतका पार्टी एकताका सबै काम सकिएको छ । यसअघि नै राजनीतिक प्रतिवेदन प्रकाशनका लागि पठाइ सकिएको छ । बालुवाटारको बैठकअगावै अध्यक्ष प्रचण्डले आज एकताको बाँकी सवै काम सकाउने घोषणा गर्नुभएको थियो । नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो घोषणा गर्नुभएको हो ।

‘हामी दुवै अध्यक्ष (प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड) ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेका छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो लगाउँछौं ।’ केही दिनदेखि एकताको काम सकाउन आफूहरु लागिरहेको भन्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म आधारभुत रुपमा सवै काम सकाउने बताउनु भयो ।

‘आज बेलुकासम्म कार्यबिभाजन, जेष्ठ, कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी, बिशेष कमिटी, केन्द्रीय बिभाग टुंग्याउँछौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार, केन्द्रीय बिभाग, निकायको काम टुंगो लागिसकेको छ ।’ अध्यक्ष प्रचण्डका अनुसार आज टुंगो लगाएर केन्द्रीय सचिवालय बबैठकमार्फत अनुमोदन गरिने छ । सचिवालयको अनुमोदनपछि स्थायी कमिटी बैठकमा लगेर पुनः अनुमोदन गराइने छ । ‘सचिवालय, स्थायी समिति बसेर त्यसलाई अन्तिम रुप दिने र केन्द्रीय कमिटी बैठक बसाएर एउटा अभियानसहित देशभरी जाने निर्णय हुन्छ,’ प्रचण्डले भन्नुभयो ।

उहाँले केही महिनाभित्र पार्टी कमिटीहरुलाई र जनतासँगको सम्बन्धलाई सुदृढ गर्न अभियान चलाइने छ । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई असफल पार्ने प्रतिक्रियावादीको सवै अस्त्र असफल भएको र एकताले अव अन्तिम रुप लिएको घोषणा पनि गर्नुभयो ।

लतिलपुरको कार्यक्रमपछि अध्यक्ष प्रचण्ड सोझै बालुवाटार पुग्नुभएको थियो । उहाँ पुग्नुअगावै बिहानैदेखि महासचिव पौडेल र सचिवालय सदस्य थापाले गृहकार्यअनुसार प्रस्ताव तयार पार्नुभएको थियो । दुवै अध्यक्षलाई सघाइरहनुभएका नेताद्वयले तयार पारेको प्रस्तावमा हेरफेरसहित मापदण्डअनुसार टुंगो लगाइएको हो ।