जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ०६:२५

ओली सरकारको कामको परिणाम : नेपालले गर्यो १५० मेगावाट बिजुली भारत निर्यात


काठमाडौं, साउन १ । नेपालले भारतमा बिजुली निर्यात गरेको छ । लगातरको वर्षाका कारण कुलेखानी जलाशययुक्त अयोजना भरिएको र तराईमा बाढीका कारण बिजुली आपूर्ति अवरोध भएपछि बढी भएको बिजुली भारत निर्यात गरिएको हो । उर्जामन्त्री बर्षमान पुनका अनुसार विगत तीन दिनयता दैनिक एक सय ५० मेगावाट बिजुली भारत निर्यात गरिएको छ ।

‘बाढीले तराईमा बिजुलीको माग घटेकाले यो समयमा हामीलाई बढी भएको बिजुली भारत पठाएको हौं,’ मन्त्री पुनले भन्नुभयो । कुसाहा–कटैया प्रसारणबाट ११० मेगावाट र रक्सौल–परवानीपुरबाट ५० मेगावाट गरी कुल १५० मेगावाट बिजुली निर्यात भएको मन्त्री पुनको भनाई छ । उहाँका अनुसार यी दुई प्रसारण लाइनका विभिन्न सातवटा विन्दुबाट बिजुली भारत पठाइएको हो । आजबाट भने तराईमा विद्युत् आपूर्ति नियमित भइ माग बढेपछि भारत निर्यात रोकिनेछ । भारतमा बिजुली निर्यातसँगै नेपालले इनर्जी बैंकिङको सुरुवात गरेको मन्त्री पुनले बताउनु भयो ।

बाढीका कारण तराईमा विद्युत्को माग घटेपछि नेपालले विगत तीन÷चार दिनदेखि दैनिक १५० मेगावाट बिजुली भारत निर्यात गरेको पनि उल्लेख छ । नेपालले बढी हुँदा बिजुली निर्यात गर्ने र आवश्यक पर्दा ल्याउने गरी गरिएको इनर्जी बैंकिङको सदुपयोग भएको ऊर्जा सचिव दिनेश घिमिरेले बताउनु भयो ।

आवश्यकताअनुसार भारतबाट ल्याउने र बढी हुँदा पठाउने सर्तअनुसार नै हामीलाई बढी भएको बेला पठाएको हो । अब तराईका क्षेत्रमा बिजुली आपूर्ति हुन थालेपछि हामीलाई नै नपुगेर उतैबाट ल्याउनुपर्ने भएकोले निर्यात गर्न सकिन्न, घिमिरेले भन्नुभयो । नेपालले यस अघि पनि सीमा क्षेत्रबाट बिहारमा बढी भएको बिजुली पठाउने र आवश्यक पर्दा ल्याउने गरिरहेको छ ।

मन्त्री पुनका अनुसार लगातारको वर्षाले जलाशययुक्त आयोजना कुलेखानीको सतह १५ सय २७ मिटर पुगेको छ । यसको क्षमता १५ सय ३० मिटर मात्रै हो । यो आयोजना भरिएपछि ९२ मेवागाटको यो आयोजना २४ सै घण्टा पूर्णक्षमतामै सञ्चालन भइरहेको छ । कुलेखानी भरिएपछि यसबाट हुने पूर्ण क्षमताको बिजुली उत्पादनले पनि धेरै भएको समयमा बिजुली निर्यात गर्न सहयोग पुगेको उल्लेख छ ।