जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ०८:२६

अमेरिकी संसदमा ट्रम्पलाई झट्का, निन्दा प्रस्ताव पारित


काठमाडौं, साउन १

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चार जना विपक्षी महिला सांसदका विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर अमेरिकी संसद कंग्रेसले मंगलबार निन्दा प्रस्ताव पास गरेको छ । प्रस्तावमा ट्रम्पको भनाइलाई नश्लवादी बताउँदै यस्तो भनाइले अमेरिकीमा भय र घृणालाई बैध गराउने ठहर गरिएको छ ।

तल्लो सदन कंग्रेसमा डेमोक्रेटिक पार्टीका १८७ सांसद रहेकोमा प्रस्तावको पक्षमा २४० मत परेको थियो । यसको अर्थ विपक्षी डेमोक्रेटिक पार्टी बाहेकका सांसदले पनि राष्ट्रपतिको भनाइको विपक्षमा मत हालेका छन् । राष्ट्रपतिले चार जना विपक्षी सांसदप्रति लक्षित गर्दै उनीहरुलाई आफू आएकै देशमा जान गएको आइतबार र सोमबार आग्रह गरेका थिए ।

राष्ट्रपतिको भनाई नश्लवादी भनेर अमेरिकामा विपक्षीले चर्को आलोचना गरेका थिए । यसैक्रममा संसदमा निन्दा प्रस्ताव पास भएको हो । उनले अमेरिकी नागरिक नै रहेका चार महिला सांसदलाई अमेरिकामा खुसी नभए देश छोडेर जान आग्रह गरेका थिए । उनलाई नश्लवादी भनिएकोमा राष्ट्रपति ट्रम्पले चाहिं पुनः ट्विट गर्दै आफू नश्लवादी नभएको बताएका छन् । उनले भनेका छन्, ‘म नश्लवादी थिइनँ, म नश्लवादी होइन ।’

उनको भनाइलाई लिएर अमेरिकी संसदमा प्रस्ताव ल्याउने तयारी गरिएपछि उनले आफू नश्लवादी होइन भनेर ट्विट गरेका हुन् । यो प्रस्तावको कुनै कानुनी बाध्यता नभएपनि यसले राष्ट्रपतिलाई नैतिक दबाब भने दिएको छ । यसअघि चार महिला सांसदहरु अलेक्जाण्ड्रिया ओकासियो कोर्टेज, रसिदा त्लीब, अइयाना प्रेस्ली र इल्हान ओमारले राष्ट्रपतिको भनाई आफ्नो कमजोरीबाट ध्यान अन्यत्र मोड्ने प्रयास भन्दै पत्रकार सम्मेलन गरी आलोचना गरेका थिए ।