जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार १०:१०

विदेशमा जाँदा पुटिनको दिसा पिसाबसमेत संकलन गरी रुस पठाइन्थ्यो !


पेरिस । फ्रान्सका सञ्चार माध्यमहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विदेश भ्रमणमा जाने क्रममा उनका सहयोगीहरूले उनको दिसा पिसाब संकलन गर्ने गरेको बताएका छन् । सन् २०१९ को उत्तरार्धमा पुटिनले साउदी अरेबियाको भ्रमण गरेको बेला उनका विशेष अंगरक्षकले यस्तो अनौठो काम गरेकोबारे अप्रत्यक्ष प्रमाण पत्रकारहरूले फेला पारेका छन् । यस्तो काममा संलग्न रहेको बताइएका एकै व्यक्तिले फ्रान्स भ्रमणको बेला पनि पुटिनलाई बाथरुमसम्मै पछ्याएका थिए । यस विषयमा तयार गरिएको प्रतिवेदनअनुसार ती एजेन्टले विशेष झोलाहरूमा संकलन गरेको पुटिनको दिसा पिसाब ब्रिफकेसमा प्याक गरेर रुस पठाइन्थ्यो । सायद पुटिनको स्वास्थ्यबारे कसैले कुनै पनि जानकारी लिन नसकोस् भन्ने हेतुले यस्तो गरिएको हुनुपर्ने अनुमान गरिएको छ ।

विगत केही महिनादेखि पुटिन क्यान्सरबाट पीडित रहेको भन्ने खबरहरू सञ्चार माध्यमले बाहिर ल्याइरहेका छन् । अप्रिलको उत्तरार्धमा बेलायतको अखबार दि सनले पुटिनको चाँडै क्यान्सरसम्बन्धी उपचारका लागि शल्यक्रिया हुन लागेको खबर छापेको थियो । क्रेमलिन निकटका एकजना अज्ञात धनाढ्य व्यक्तिलाई उद्धृत गर्दै गत मे महिनामा पनि न्यू लाइन्स म्यागजिनले पनि यस्तै खबर छापेको थियो ।बेलायतको गुप्तचर सेवा निकाय एमआई–६ को पूर्व अधिकारी क्रिस्टोफर स्टिलेले पनि पक्कै पनि पुटिन गम्भीर बिरामी रहेको तर उनको अवस्था कस्तो छ भन्ने स्पष्ट नभएको बताएका थिए । चाप्लुसी गर्दै पुटिनको एउटा प्रोपोगान्डा फिल्म बनाएका ओलिभर स्टोनले पनि उनलाई क्यान्सर भएको बताएका थिए ।प्रायस् पुटिनको अनुहार सुन्निएको जस्तो देखिने गरेकाले पनि उनलाई क्यान्सरको सम्भावना रहेको केही विशेषज्ञहरूको भनाइ छ । साथै उनले क्यान्सर दबाउन स्टेरोइड्सको प्रयोग गरिहेको हुनुपर्ने पनि अनुमान गरिएका छन् ।