जनता टाइम्स

३ असार २०७९, शुक्रबार १३:०५

महिला टी–२० च्याम्पियनसिप : नेपालको विजयी सुरुवात


काठमाडौं, ३ असार । एसीसी महिला टी–२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आज भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्यो । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७।५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाउनुभयो । यसबाहेक भुटानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानकी गावाङ छोडेनले आठ, सोनम पाँच र पेमा सेल्डोनले चार बनाउनुभयो । भुटानलाई सस्तैमा समेट्न नेपालकी संगीताले सर्वाधिक चार विकेट लिनुभयो । २.५ ओभर बलिङ गर्नुभएको संगिताले ६ रनमात्र खर्चिनुभयो । यस्तै, कविता कुँवर र सीता मगरले समान दुई विकेट लिँदा अस्मिान कर्माचार्य र इन्दु वर्माले एक–एक विकेट हात पार्नुभयो ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार गरेको थियो । खराब सुरुवात गरेको नेपालले १२ रन बनाउँदा दुवै ओपनरसहित तीन विकेट गुमाइसकेको थियो । त्यसपछि उपकप्तान इन्दु वर्माले २६ बल खेलेर २० तथा काजल श्रेष्ठले ३५ बल खेलेर २६ रन बनाउनुभएको थियो ।

चौथो विकेटका लागि उनीहरुले ३२ रनको साझेदारी गरेका थिए । यस्तै, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१ रन बनाउँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । भुटानका लागि सोनामा पाल्दोनले ४ ओभरमा १३ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिनुभयो ।

अन्य दुई बलरले एक(एक विकेट लिँदा बाँकी विकेट नेपालले रन आउटमा गुमाएको थियो । च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।