जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १६:१४

संसदीय समितिमा पत्रकारलाई जनार्दन शर्माको आदेश : त्यो क्यामेरा बन्द गर्नाेस त !


काठमाडौं, साउन १ । कहिले सरकारबिरुद्ध अभिब्यक्ति दिएर त कहिले प्रहरीबिरुद्ध खनिएर चर्चामा आइरहनु हुने सत्तारुढ नेकपाका नेता जनार्दन शर्मा आज फेरि अर्काे काण्ड घटाएर चर्चामा आउनु भएको छ । सत्तारुढ दलका स्थायी समिति सदस्य रहेपनि बिपक्षी भन्दा कडा आफ्नै दलका मन्त्रीबिरुद्ध खनिदै आउनु भएका शर्माले आज संसदीय समिति बैठकमा आफूले बोल्ने पालो आउन साथ पत्रकारलाई क्यामरा बन्द गर्न भन्दै आदेश दिएर चर्चामा आउनु भएको हो ।

आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अन्य सांसद बोल्दा निर्वाध क्यामरामा कैद गरिरहेका फोटो पत्रकारहरुलाई शर्माले आफूले अनौपचारिक बोल्ने भन्दै क्यामरा बन्द गर्न भन्नुभएको हो । आजको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको थियो । विधेयकमा प्रस्ताव गरिएको निजामती कर्मचारीलाई निवृत्त भएपछि दिइने सेवाको विषयमा सदस्यहरुबीचमै मतभेद प्रष्टै देखिन्थ्यो । अर्थात सांसदबीच जुहारी चलिरहेको थियो ।

केही सांसदले बहालवाला कर्मचारीको तलब बढ्दा सेवानिवृत्तको पनि दुई तिहाई पेन्सन बढ्नुपर्ने तर्क गरिरहेका थिए भने केहीले सेवा निवृत्तलाई अनावश्यक सुविधा दिन नहुने तर्क गरिरहेका थिए । यही क्रममा शर्माले सभापति शशी श्रेष्ठसँग बोल्ने समय माग्नुभयो । उहाँले समय मागेपछि श्रेष्ठले पनि तत्कालै दिनुभयो । जव बोल्न सुरु गर्नुभयो, पहिला नै शर्माले पत्रकारलाई क्यामेर बन्द गर्न आदेश दिनुभयो ।

‘यहाँ बोलेको फेरि विरुद्धमा आयो भन्ने होला । रेकर्ड गरेर प्रशारण गर्ने होला । म अनौपचारिक कुरा गर्छु । त्यो क्यामेरा बन्द गर्नाेस त ! रेकर्ड नगर्नू,’ पत्रकारलाई शर्माको आदेश थियो । उहाँले जे पनि देखाइ दिने र समितिमा भएको छलफललाई अर्को भाइरल बनाइ दिने काम पत्रकारले गरेको भन्दै क्यामरा बन्द गर्न आदेश दिनुभएको थियो । उहाँले आफू बोल्दा समितिमा क्यामरा बन्द गराएरै छाडनु भयो । शर्मा सेवानिवृत्तको सेवा सुविधा बहालवालाको जस्तो बढाउन नहुने पक्षमा उभिदै आउनुभएको छ । क्यामरा बन्द गराएपछि उहाँले त्यही बिषयमा आफ्नो तर्क राख्नुभयो ।