पोखरा, साउन १
पोखरा महानगरपालिका–१५ कि २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ । लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पत्नीलाई हत्या गरेर जंगलमा फालेपछि मुख्य हत्यारा प्रहरीमा उजुरी गर्न पुगेका थिए । पत्नीको हत्याका मुख्य योजनाकार रमेश नेपालीसहित चारजनालाई प्रहरीले बुधबार पत्रकारसामू सार्वजनिक गरेको हो । सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५ कान्तीपुर चोक बस्ने ३५ वर्षीय रमेश नेपाली, महेन्द्रपुल बस्ने भोजपुर, भोजपुर नगरपालिका–५ बैंकरोडका ३२ वर्षीय संजय शर्मा, पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह र गोरखा गण्डकी गाउँपालिका–७ घ्यालचोक बस्ने १९ वर्षीया अनु परियार रहेका छन् ।
एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गएपछि यो जघन्य अपराध गरेको खुलेको प्रहरीको भनाई छ । साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनु भनेपछि रमेशले साथीहरुको सहयोगमा भारतीय नागरिक लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो । पत्नीको हत्याका लागि १० लाख रुपैयाँ दिने भनेर भारतबाट तीन जना झिकाएको खुलेको छ ।
लक्ष्मी गत असार १ गतेदेखि हराइरहेकी थिइन् । रमेशले पत्नीको हत्या गरेपछि जंगलमा फालेर असार २ गते खोजीका लागि भन्दै प्रहरीकहाँ निवेदन दिएका थिए । असार १ गते २७ वर्षीया लक्ष्मी नेपाली कालिका चोकबाट हराएकी थिइन् । हराएको २५ दिनपछि उनको शव पोखरा महानगरपालिका–२२ स्थित जंगलमा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस्