जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार ०७:५७

देउवाले रौतहटका बाढीपीडितलाई भेट्न मानेनन्, राहत नलिई आएकाले नभेटेको जिल्ला नेताको स्विकारोक्ति


रौतहट, साउन २

बाढीपीडितको समस्या बुझ्न रौतहट पुग्नु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पीडितलाई नभेटी फर्कनु भएको छ । पीडित बसेकै छेउमा खाना खाएर उहा पीडितलाई पनि नभेटी फर्कनु भएको हो ।

पीडितका पक्षमा सरकारले काम गर्न नसकेको आरोप लगाउदै आउनु भएका देउवा स्वयम भने पीडितलाई नभेटी जिल्लास्तरका नेतासँग मात्र भेटघाट गरी फर्कनु भएको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधि मंगलबारै बाढी प्रभावित क्षेत्रमा पुगेपनि देउवा भने बुधबार विहान विमानबाट सिमरा हुदै रौतहट पुग्नु भएको थियो । उहा रौतहट पुग्दा कयौं भारतिय नम्बर प्लेटका गाडीले पछ्याएका थिए ।

सभापति देउवाले वाग्मतीले कटान गरेको क्षेत्र निरीक्षण गर्नुभएको थियो । गढीमाईको लक्ष्मीपुरका केहीलाई बाटोमै भेटेर उहा दुर्गा भगवती गाउँपालिका पुग्नु भएको थियो । त्यहाँ उहाले पालिकाका अध्यक्ष अरुण साहको घरमा खाना खानु भएको थियो । तर, सय मिटर नजिकै बसेका विस्थापित भने भेट्न मान्नु भएन, जहाँ बाढी र डुबानका कारण करिब २ सय परिवार कष्टसँग बसिरहेका छन् । उहा बडहर्वाको बाँध हेरेर फर्किनुभयो ।

बाँधमा दुई सय घरपरिवार त्रिपाल टागेर बसेका छन् । त्यहाँ उहाले पीडितसँग करिव पाँच मिनेट जतिमात्रै कुरा गर्नुभयो । ‘भारतीय बाँधका बारेमा सरकारले गम्भीर चासो लिनुपर्छ,’ उहाले भन्नुभयो, ‘बाँधकै कारण यत्रो क्षति भएको छ । यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’

कांग्रेसका जिल्ला नेताहरुले देउवा राहत नलिई आउनु भएकाले पीडितसँग नभेटेको प्रतिक्रिया दिएका छन् । ‘सभापति देउवा राहत नलिई आउनुभएकाले पीडितलाई भेट्दा समस्या हुन सक्छ भनेर कटान क्षेत्र मात्र निरीक्षण गर्नुभयो,’ कांग्रेसका एक जिल्ला नेताले भन्नुभयो ।