काठमाडौं, असार ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गर्दै नेपाली फुटबलको सर्वोच्च पद हात पार्नुभएको हो । नेम्वाङले ४५ मत ल्याउँदा शेर्पा ३९ मतमा सीमित हुनुपरेको छ ।
चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उहाँकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
लामो समयसम्म चेन्ज एन्फाको नारासहित एन्फाको तत्कालीन संस्थापनविरुद्ध आन्दोलित हुँदा शेर्पा र नेम्वाङ सँगै हुनुहुन्थ्यो । लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो ।
नेम्वाङलगायत हिजो सँगै सहकार्य गरेका पदाधिकारीहरूले शेर्पामाथि आर्थिक अनियमितता गरेको, निरंकुशता लादेको, व्यक्तिवादी चरित्र प्रस्तुत गरेको, फुटबल विकासभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भएकोलगायतका आरोप लगाएर अलग्गै प्यानल बनाएर चुनावमा होमिनुभएको थियो ।
शेर्पाले भने नेम्वाङसहित आफ्नो समूहबाट अलग भएका केन्द्रीय सदस्यहरूको असहयोग तथा कोभिड १९ महामारीका कारण पूर्वनिर्धारित योजना अनुरूपको काम गर्न नसकेको बताउनु भएको थियो । शेर्पाले पछिल्लो कार्यकालमा अधुरा रहेका कामको पूर्णताका लागि दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएको उहाँको भनाई थियो ।
२०७२ सालमा तत्कालीन अध्यक्ष गणेश थापा फिफाबाट १० वर्षको प्रतिबन्धमा परेपछि भएको निर्वाचनमा शेर्पा नरेन्द्र श्रेष्ठसँग पराजित हुनुभएको थियो । त्यतिबेला पनि कार्यसमितिमा सदस्य रहेका नेम्वाङ शेर्पाकै पक्षमा खुलेर लाग्नुभएको थियो ।
नेपाली फुटबलको उर्वर भूमिका रूपमा परिचित झापाको धुलाबारीका स्थायी बासिन्दा नेम्वाङ सानैदेखि स्थानीयस्तरमा फुटबल खेल्नुहुन्थ्यो । तर खेलाडीका रूपमा अघि बढ्न नसक्ने देखेपछि बिस्तारै रोलिङ क्लब हुँदै झापा जिल्ला फुटबल संघमा छिर्नुभएका नेम्वाङ २०५९ सालमा एन्फाको केन्द्रीय सदस्य बन्न्ुभयो ।
त्यसयता लगातार चार कार्यकाल सदस्य भएर काम गरेका नेम्वाङ चार वर्षअघि उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा निर्वाचित भएको झण्डै एक वर्षपछि उहाँलाई वरिष्ठ उपाध्यक्षमा चयन गरिएको थियो । आजबाट अध्यक्षको जिम्मेवारीमा पुग्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्