जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार ०८:५३

हज गर्न जाने टोली साउदी अरब प्रस्थान, गृहमन्त्रीले गरे विदाइ


काठमाडौं, साउन २

साउदी अरबमा हज गर्न जाने पहिलो टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । १५६ सदस्यीय पहिलो टोलीलाई आज विहान सरकारले विदाइ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलगायतले खादा लगाएर विदाई गर्नुभएको हो ।

हज टोलीलाई विदाई गर्न नेपालका लागि साउदी अरब र युएईका राजदूत पनि विमानस्थल पुग्नु भएको थियो । यसपटक साउदी अरबको मक्का मदिनामा १५ सय नेपाली हज गर्न जाने हज टोलीले जानकारी दिएको छ । अघिल्लो वर्ष १२ सय जनाको कोटा थियो भने यसपटक तीन सय कोटा थप गरिएको हो ।

सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको बताउनुभयो । उहाँले मक्कामदिनामा गएर हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताउनुभयो । उहाँले हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राख्नुभयो ।