जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १६:५४

ललितानिवास प्रकरणमा माधव नेपाल : नक्कली मोही खडा गर्नेमाथि कडा कारबाही हुनुपर्छ


नक्कली मोही खडा गरेर कागज प्रस्तुत गरिएको रहेछ, नक्कली मोही खडा गर्नेहरू दण्डित हुनुपर्छ, यो विषयमा जोजो संलग्न छन, सरोकारवालाले नै जानून, तर निष्पक्ष छानबिन हुनुपर्छ । कसैबाट प्रभावित नभई छानबिन हुनुपर्छ, निर्दोष नपरुन, दोषी कोही पनि नउम्किऊन

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने खेलबारे आफू बेखवर रहेको प्रष्ट पार्नुभएको छ ।

नेपाल नेतृत्वको सरकारको पालामा ललिता निवासको जग्गा ब्यक्तिको नाममा दर्ता गराउन मन्त्रिपरिषदबाटै निर्णय गराएको दावी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बयानपछि नेपालले यस्तो प्रतिक्रिया दिनुभएको हो । नेता नेपालले ण्मन्त्रिपरिषद्मा आएको प्रस्ताव सरसर्ती हेर्दा केही अन्यथा नदेखेको कारण निर्णय भएको तर चलखेलबारे आफू बेखवर रहेको प्रष्ट पार्नुभयो ।

‘तत्कालीन मुख्यसचिव माधव घिमिरेलगायतले बालुवाटारको एरिया साँघुरो भयो, एउटामात्रै गेट सुरक्षाको दृष्टिकोणले पनि उचित भएन भनेर बारम्बार भन्नुभयो, अनि कम्पाउण्ड बाहिरको जग्गा पनि सरकारी नै हो, त्यसलाई मिलाएर एरिया विस्तार गर्नुपर्छ भनेपछि मैले नमान्ने कुरै भएन,’ नेपालले भन्नुभयो । सो प्रस्तावपछि आफूले अरु प्रक्रिया मिलाएर गर्न तत्कालीन मुख्यसचिव घिमिरेलाई निर्देशन दिएको र त्यही निर्देशन अनुसार प्रस्ताव आएको ठानी त्यसलाई स्विकृत गरेको उहाँले प्रष्ट पार्नुभयो ।

भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव बस्न्यातले दुई फरक टिप्पणीमा बालुवाटारको सरकारी निवास विस्तार र मोहीलाई सरकारी जग्गा दिने प्रस्ताव तयार पार्ने क्रममा दुई ठाँउमा प्रधानमन्त्री तथा मुख्यसचिवसहितको बैठकले निर्देशन गरे अनुसार आफूले प्रस्ताव लेखेको जिकिर गर्नुभएको छ ।

एउटा प्रस्तावमा ‘उपरोक्त आधार तथा विभिन्न मितिमा सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यकक्षमा भएका छलफलहरु तथा निर्देशन समेतका आधारमा’ भन्ने व्यहोरा टिप्पणीमा लेख्नुभएको छ भने अर्को प्रस्तावमा उनले मुख्यसचिवको नेतृत्वमा बसेको सचिवहरुको बैठकमा निर्देशन भए बमोजिम प्रस्ताव तयार गरेको समेत उल्लेख छ । बस्न्यातल अख्तियारमा बयानका क्रममा समेत तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशन अनुसार प्रस्ताव तयार गरेको बताउनु भएको छ ।

तर पूर्वप्रधानमन्त्री नेपालले आफूले बालुवाटरको जग्गा विस्तार र भवन निर्माणको काम तीब्रताका साथ अघि बढाउन निर्देशन दिएको भए पनि मोहीका बारेमा केही नबोलेको र त्यसका बारेमा थाहा पनि नपाएको प्रष्ट पार्नुभयो । ‘मैले प्रधानमन्त्री निवास विस्तारका लागि निर्देशन दिएको हो, तर कुन कानून अनुसार, कुन निकायले कसरी त्यो व्यवस्थापन गर्ने ? मुख्य सचिवलगायतले जान्ने कुरा हो,’ पूर्वप्रधानमन्त्री नेपालको भनाई छ ।

नक्कली मोही खडा गरेर जग्गा हडपेकोबारे आफूले सञ्चारमाध्यममार्फत जानकारी पाएको भन्दै नेपालले त्यस्तामाथि कडा कार्वाही हुनुपर्ने बताउनु भयो । ‘नक्कली मोही खडा गरेर कागज प्रस्तुत गरिएको रहेछ, नक्कली मोही खडा गर्नेहरू दण्डित हुनुपर्छ,’ नेपालले भन्नुभयो, ‘यो विषयमा जोजो संलग्न छन, सरोकारवालाले नै जानून, तर निष्पक्ष छानबिन हुनुपर्छ । कसैबाट प्रभावित नभई छानबिन हुनुपर्छ, निर्दोष नपरुन, दोषी कोही पनि नउम्किऊन ।’

पूर्वप्रधानमन्त्री नेपालले बालुवाटार प्रकरणमा बदमासी गर्ने सवैमाथि निर्मम कार्वाही हुनुपर्ने पनि बताउनु भयो । ‘अनुहार हेरेर निर्णय नहोस, को कुन पार्टीमा छ, नजिक टाढा को छ भन्ने नहेरी संलग्न भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ,’ नेपालको भनाई थियो, ‘मोही खडा गरी सरकारी जग्गा हडप्ने भ्रष्टाचारीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ, यो निन्दनीय अपराध हो,’ नेपालले भन्नुभयो ।