काठमाडौं, साउन ३
एकै परिवारका पाँच जनाको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले १४ वर्ष पुरानो हत्याकाण्डका आरोपी सोनीलाई रिहा गर्न आदेश दिएको हो ।
नेपालगन्ज–१५, सदरलाइनस्थित न्यु दीप ज्वेलर्सका सञ्चालक दीपक हेमकर परिवारको ०६२ फागुन २३ मा सामूहिक हत्या भएको थियो । कफ्र्युको समयमा हत्याभएपछि सो क्षेत्रका बासिन्दा निक्कै त्रसित भएका थिए । दीपकका काका बलराम हेमकरले सर्वोच्चको निर्णयले निराश बनाएको बताएका छन् । लामो समयपछि पक्राउ परेका आरोपीलाई अदालतले ९ महिनामै साधारण तारेखमा रिहा गरिदिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र बाँके प्रहरीको विशेष टोलीले ०७५ असोज १३ मा भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालतमा हत्या तथा डकैती मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा जिल्ला अदालत बाँकेले ०७५ कात्तिक १४ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
आरोप अस्वीकार गर्दै आएका सोनीले उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न दिन माग गरेका थिए । उच्च अदालत दाङको नेपालगन्ज इजलासले ०७५ पुस २६ मा जिल्लाकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्न आदेश दियो । उक्त आदेशविरुद्ध सोनीले ०७५ चैत ५ मा सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिए ।
प्रहरी अनुसन्धानकै क्रममा दीपककै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्य फेला परेको थियो । यसबीच आरोपी दीपाले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन् ।
दीपकसहित उनका बुबा जगदेव, आमा सीतादेवी, हजुरआमा गुलाबदेवी र कामदार खासकुश्मा–१, कुसुमका रामशनीश्चर चौधरीको राति सुतेकै ठाउँमा घाँटी रेटेर हत्या गरिएको थियो । हत्या आरोपी किशोरीलाल दीपकका ससुरा हुन् ।
प्रतिक्रिया दिनुहोस्