जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार ०९:५२

भारतीय राजदूतकैसामू माधव नेपालको उदघोष : भारत नेपालको ठूल्दाइ होइन, डराउनु पर्दैन


काठमाडौं, साउन ३

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले भारतसंगका समस्या वार्ता र संवादको माध्यमबाट हल गर्नुपर्ने बताउनु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा उहाले शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै अघि बढ्नुपर्ने पनि बताउनु भयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव पुरी समेत उपस्थित कार्यक्रममा नेता नेपालले भारत नेपालको ठूल्दाई नभएको बताउदै उसँग डराउनु पर्ने कुनै कारण नभएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले भारत र चीनबीचको सेतु नेपाल रहेको बताउनु भयो । भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने उहाको कथन थियो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वासमा आधारित पारस्परिक सम्बन्ध पछिल्ला दिनमा अझ सुदृढ, सुमधुर एवं व्यापक बनेको बताउँदै एकअर्काका संवेदनशीलता बुझ्ने र आफ्नो भूमि एकअर्काकाविरुद्ध प्रयोग हुन नदिन प्रयोग हुन नदिनेमा नेपाल सचेत रहेको बताउनु भयो । पञ्चेश्वर बहुद्देश्यीय आयोजना निर्माण, डुबान समस्या, सीमा व्यवस्थापन, सीमापार आपराधिक गतिविधि नियन्त्रणलगायत विषय निरुपणमा साझेदारी भइरहेको जानकारी दिँदै मन्त्री ज्ञवालीले आपसी मामिलाका टुङ्गिन बाँकी रहेका मुद्दा संवादको माध्यमबाटे समाधान गरिने जानकारी गराउनु भयो ।

राजदूत पुरीले सात दशकयता दुई देशबीच घनिष्ठ सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै घनीभूत तुल्याउन भारत प्रतिबद्ध रहेको बताउनु भयो । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि नेपालले आर्थिक विकासमा फड्को मार्ने बताउँदै ‘समृद्ध नेपाल खुशी नेपाली’ को परिकल्पना साकार पार्ने वर्तमान सरकारको लक्ष्यलाई भारतले हरतरहले सघाउने घोषणा समेत गर्नुभयो ।