जनता टाइम्स

१३ असार २०७९, सोमबार ०८:००

आईजीपी विवादबारे सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ


काठमाडौं, १३ असार । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि असार ५ गते सुनुवाइ भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाइ भइरहेको मुद्दामा रिट निवेदक विश्वराज पोखरेलका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरिसक्नुभएको छ । उहाहरूले सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी गर्नुभएको छ ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । आज प्रतिवादीका तर्फबाट बहस हुनेछ । आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए । पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन् ।