जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १५:२१

मान्छे मार्दै सरकारमाथि दोष लगाउँदै बिप्लव समुह : धनगढीमा बिष्फोट गराउने र मारिने बिप्लवकै कार्यकर्ता


काठमाडौं, साउन ३ । बिहीबार साँझ धनगढीको शहीद गेटमा नजिकै भएको शक्तिशाली विष्फोटमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको संलग्नता रहेको पुष्टि भएको छ । बिप्लव समुहको सेती–महाकाली ब्यूरो इञ्चार्जले निर्माणको नामबाट आज विज्ञप्ति जारी गर्दै आत्मसुरक्षाका लागि राखिएको बम बिष्फोट भई आफ्नो कार्यकर्ता मारिएको पुष्टि गरेका हुन ।

बिप्लव समुहले पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ पड्किएको भन्दै सो घटनामा जिम्मेवारी लिएको हो । यो जिम्मेवारीसँगै बिप्लव समुहले बार्ताको नाटक गरी सर्वसाधरणको हत्या गर्ने योजना कायम राखेको तथ्य पनि बाहिर आएको छ । बिप्लव समुहले निकालेको विज्ञप्तिमा पार्टीका रामबहादुर सिंह ‘राजेश’ ले ज्यान गुमाएको बताएको छ । घटनामा अन्य चार जना घाइते छन् ।

घाइते कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये सेरलामा पनि विप्लव समूहकै कार्यकर्ता भएको दाबी गरिएको छ । यद्यपि, उनको बिषयमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन । आफ्ना कार्यकर्ता जोगाउन बिप्लव समुहले केही नबोलेको बताइएको छ । बिप्लव समुहले घटनाको जिम्मेवारी लिए पनि दोष चाँहि सरकारमाथि लगाएको छ ।

‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ, यो दुःखद घटनाको पछाडिको मुल कारण दलाल पुँजीवादी संसदीय ब्यवस्था भएकोले यस्को सम्पुर्ण जिम्मा केप ीओलीको सामाजिक फाँसिवाद सरकारले लिनुपर्दछ,’ बिज्ञप्तीमा भनिएको छ ।