जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १५:४३

नेपाल क्रिकेट माथिकाे निलम्बन यथावत्


काठमाडौं, साउन ३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । इसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो ।

त्यसयता बारम्बार फुकुवाको प्रयास भए पनि सफल हुन सकेको छैन । आइसिसीको प्रतिबन्धमा रहे पनि नेपाली क्रिकेट टोलीले आइसिसीकै निगरानीमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेको छ । त्यसैगरी आइसिसीको बैठकले जिम्बावे क्रिकेट बोर्डलाई पनि प्रतिबन्ध लगाएको छ ।

जिम्बावे क्रिकेट बोर्डमा सरकारी हस्तक्षेप भएको भन्दै आइसिसीले जिम्बावेलाई निलम्बन गरेको हो । सरकारी हस्तक्षेप बढेको र आइसिसीको धारा २ (४) को ‘सी’ र ‘डी’ विपरीत काम गरेको भन्दै जिम्बावेलाई तत्कालैदेखि लागू हुनेगरी निलम्बन गरिएको हो । आइसिसीले निलम्बनसँगै जिम्बावेको सबै अनुदानसमेत रोक्का गरेको छ ।

जिम्बावे अहिले आर्थिक सङ्कटमा छ । इसिसीले जिम्बावे क्रिकेट बोर्डलाई तीन महीनाभित्र यस मुद्दालाई समाधान गर्न (अल्टिमेटम) समयसीमा दिएको छ ।आइसिसीले क्रोएसिया र जाम्बियाको क्रिकेट बोर्डलाई पनि निलम्बन गरेको छ भने मापदण्ड नपुगेको भन्दै मोरक्कोको क्रिकेट बोर्डलाई पनि निष्कासन गरेको छ ।