जनता टाइम्स

१८ असार २०७९, शनिबार ०९:५३

अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे


काठमाडौं, १८ असार ।  प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक हुनुभएको छ । बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले –आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो ।माओवादी र कांग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिनुभएको हो ।

पछिल्लो समय उहाँले ‘केन्द्रको आदेशबिना सरकार नछोड्ने’ अडान राख्दै आउनुभएको थियो । माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारीसमेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार हुनुभएको हो । सरकार छाड्नैपर्ने अवस्था आएपछि उहाँले संसदीय दल बैठक बोलाउनुभएको छ । आज शनिबार बस्नेगरी पार्टीले बैठक बोलाएको नेकपा एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिनुभयो ।

‘गठबन्धनभित्र सरकार फेरबदल विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रा कति जना मन्त्री रहने भन्ने’ छलफल हुन बाँकी छ,’ सिग्देलले भन्नुभयो ‘हामीले संसदीय दल बैठक बस्ने तयारी गरेका हौं ।’ गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चार मन्त्री छन् ।पाण्डे नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६÷६ महिना नेतृत्व गर्ने ‘भद्र सहमति’ भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए ।