जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार १९:४४

नेकपाको शक्तिशाली चार बिभाग प्रमुखमा जुट्यो सहमति : जवजका वकालतकर्तालाई स्कूल बिभागको नेतृत्व


काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सवैभन्दा शक्तिशाली चार बिभागको प्रमुख टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले पूर्वएमालेतर्फको चार बिभागको प्रमुखमा सचिवालयकै चार सदस्य रहने गरी सहमति भएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले बिभागको जिम्मेवारी टुंगो लगाउने क्रममा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाउनु भएको हो । नेकपाको महत्वपूर्ण छ विभागमध्ये चार ओटा बिभागको प्रमुख पूर्वएमालेको भागमा परेपछि सचिवालय बैठक अगावै सहमति भएको हो । अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँगको बैठकमा पूर्वएमालेको भागमा संगठन विभाग, पार्टी स्कुल विभाग, विदेश विभाग र नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पाउने सहमति भएको थियो ।

सोहीअनुसार चार ओटै बिभागको प्रमुख सचिवालयकै नेताहरुले गर्ने तय भएको छ । सहमतिअनुसार बरिष्ठ नेता माधवकुमार नेपालले बिदेश बिभाग, झलनाथ खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य बामदेव गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य इश्वर पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लागेको हो । ‘पूर्वएमालेको भागमा परेको बिभाग प्रमुखको नाम टुंगो लागेको छ, यसैअनुसार सचिवालयले निर्णय गर्छ,’ बालुवाटार बैठकको निर्णय सुनाउँदै एक नेताले जनताटाइम्स डटकमसँग भने ।

ती नेताका अनुसार अव पूर्वएमालेतर्फ कार्यबिभाजनमा कुनै बिवाद छैन । ‘सवै नेताले चाहेको बिभाग पाउनुभएको छ, अव कार्यबिभाजनमा कुनै बिवाद वा मतभेद छैन, अध्यक्षले सवै नेतालाई सहमतिमा ल्याउनुभएको छ,’ सचिवालयका ती नेताको भनाई थियो । नेकपामा ३२ ओटा केन्द्रीय विभाग रहेका छन । तीमध्ये १८ वटा पूर्वएमाले र १४ ओटा पूर्वमाओवादी केन्द्रले नेतृत्व गर्ने सहमति भएको छ ।

अध्यक्षद्वय र महासचिवले कुनै पनि विभागको नेतृत्व नलिने सहमति यसअघि नै भइसकेको छ । यस्तै पूर्वमाओवादीको भागमा परेको प्रचार तथा प्रकाशन बिभाग र आर्थिक बिभाग प्रमुखको बिषयलाई लिएर अध्यक्ष प्रचण्डले परामर्श गरिरहनुभएको छ । पार्टी प्रवक्तासमेत रहनुभएकोले प्रचार बिभागमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको सम्भावना रहेको छ ।