जनता टाइम्स

१८ असार २०७९, शनिबार १८:१६

सिपी मैनाली छाडेर कमल थापाको पार्टीमा गए पोलिटब्युरो सदस्य श्रेष्ठ


काठमाडौं, असार १८ । लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गर्नुभएको छ । नेकपा (माले) का पोलिटब्यूरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई शनिवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गर्नुभयो ।

सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गर्नुभयो । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिशंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै थापाले धर्म परिवर्तन, बेरोजगारी, भ्रष्ट र कुशासन अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताउनु भयो ।

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताउनु भयो । नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित समाहित भएको बताउनु भयो ।