जनता टाइम्स

१९ असार २०७९, आईतवार १२:११

माओवादी नेता मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्‍दै सामाजिक संजालमा तिव्र आलोचना


विराटनगर, १९ असार । कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको आलोचना भएको छ । शनिबार बेलुका आफ्नो विवाहको वार्षिकोत्सव कार्यक्रममा मण्डलले कार्यकर्तालाई खुट्टा ढोगाएको भन्दै आलोचना भएको हो ।

वैवाहिक वर्षगाँठ मनाउन देवा यादवसहितका माओवादीका कार्यकर्ताहरु विराटनगर महानगरपालिका वडा नं. १ स्थित मण्डलको घर पुग्नुभएको थियो । केक काटेपछि कार्यकर्ताहरुलाई उहाँले टीका लगाइदिनुहुन्छ । टीका थापेका कार्यकर्ता देवा यादवसहित अरूले पनि निहुरिएर मण्डलको खुट्टा छुन्छन् । मण्डलले उनीहरूलाई रोक्न पनि नखोजेको भिडिओमा देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त भिडिओ सेयर गर्दै कार्यकर्तालाई खुट्टा ढोगाएको भनेर मण्डलको आलोचना भइरहेको छ ।

मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मण्डल पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँले यो आफूहरुको पारिवारिक संस्कार भएकाले आलोचनाको विषय नभएको दावी गर्नुभएको छ ।