जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १४:०१

इश्वर पोखरेलको घोषणा : जग्गा अतिक्रमण गर्ने जतिसुकै पहुँचवाला भएपनि कार्वाही हुन्छ


काठमाडौं, साउन ४

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने घोषणा गर्नुभएको छ । काठमाडौं क्षेत्र नम्बर ५ मा पुनर्निर्माण गरिएको पहेँलो पुलको उद्घाटन गर्दै मन्त्री पोखरेलले जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताउनुभएको हो । उहाँले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकारलाई सैह्य नहुने बताउनुभयो । जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भएपनि त्यसलाई सरकारले कार्वाही गरेरै छाडने चेतावनी दिनुभयो । उहाँले स्थानीय तहमा हुने विकास निर्माणको बजेट व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पार्नुभयो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाहरुसँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको बताउनुभयो । काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्षभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रदेश सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नम्बर ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रदेश ३ को सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुननिर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उहाँले सुनाउनुभयो ।