जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १४:५१

एक्शनमा आइजीपी सर्वेन्द्र खनाल : प्रहरीमाथि नै निगरानी गर्न बनाए मार्सल टीम


काठमाडौ, साउन ४ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले प्रहरीको आचरण सुधारका लागि कडा कदम चाल्नुभएको छ । लामो समयसम्म निर्देशनअनुसार परिणाम आउन नसकेपछि आइजीपी खनाल एक्शनमै उत्रनुभएको हो ।

खनालले प्रहरी कर्मचारीले आचरण बिपरितको काम गर्ने गरेको गुनासो बढेपछि विशेष टिम गठन गर्नुभएको हो । आइजीपी खनालले गठन गर्नुभएको उक्त मार्सल टिमलाई प्रहरी कर्मचारीहरुले प्रहरी नियमावलीले निर्दिष्ट गरेको आचरण बिपरितका काम गरे, नगरेको अनुगमन गर्ने र आचरण बिपरितको काम गरेको पाइएमा कारबाहीको सिफारिस गरे म्याण्डेट दिइएको छ । टीमको सदस्यको नाम भने गोप्य राखिएको छ ।

कोभर्ट अपरेसन (गोप्य अपरेसन) समेत गर्नुपर्ने हुनाले प्रहरी मुख्यालयले टीममा रहेका सवै सदस्यको नाम गोप्य राखिएको हो । आफ्नै सचिवालयमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा गठन गरिएको उक्त टिम आइजीपी खनालको प्रत्यक्ष नियन्त्रण तथा निर्देशनमा परिचालन हुने छ । सादा पोशाकमा परिचालन हुने उक्त टिमलाई जुनसुकै समय तथा जुनसुकै प्रहरी कार्यालयमा छिरेर आकस्मिक अनुगमन तथा चेकजाँच गर्न सक्ने अधिकार दिइएको छ । अर्थात उक्त टीमले आइजीपीकै अधिकार प्रयोग गरी हरेक कार्यालयमा निगरानी गर्नेछ ।

प्रहरी जवान तथा अधिकृतहरुले गर्नसक्ने आचरण बिपरितका कार्यहरुलाई नियन्त्रण गर्न तथा गैरकानुनी कार्यमा संलग्नहरुलाई कारबाही गर्न सो मार्सल टिम परिचालन गरिएको आइजीपी सचिवालयका एक अधिकृतले जनताटाइम्स डटकमलाई बताए ।

‘प्रहरी युनिटहरुको आकस्मिक अनुगमनमा भेटिएका कमी कमजोरीको बिषयमा मार्सल टिमका कमाण्डरले सोझै आइजीपी सापलाई लिखित प्रतिवेदन बुझाउने ब्यवस्था छ, अरुलाई जानकारी हुन्न,’ ती अधिकृतले भने । उनका अनुसार प्रतिवेदन प्राप्त भएपछि आइजीपी सचिवालयको प्रहरी निरीक्षणालय अन्तर्गतको उजुरी छानबिन शाखाले कारबाही प्रक्रिया अघि बढाउनेछ ।

सादा पोशाकमा परिचालन हुने उक्त टिमलाई जुनसुकै समय तथा जुनसुकै प्रहरी कार्यालयमा छिरेर आकस्मिक अनुगमन तथा चेकजाँच गर्न सक्ने अधिकार दिइएको छ

उच्च स्रोतका अनुसार उक्त मार्सल टिमले गत साता उपत्यकाका दुई प्रहरी बृत्तको आकस्मिक अनुगमन गरिसकेको छ । टोलीले त्यहाँ देखिएका कमजोरीको बिषयमा आइजीपी खनाललाई रिपोर्टिङ गरिसकेको छ ।