जनता टाइम्स

२३ असार २०७९, बिहीबार १४:२३

कमल थापाका निकट विद्यार्थी संगठनका अध्यक्ष-महासचिव नै लिङ्देनको राप्रपामा प्रवेश


काठमाडौं, असार २३ । कमल थापा नेतृत्वको राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गर्नुभएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रजवारलाई बिहीबार राप्रपाको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभयो । बिहीबार नै विद्यार्थी संगठनका महासचिव सचिन अधिकारी पनि राप्रपामा प्रवेश गर्नुभएको छ । केही दिनअघि संगठनका अर्का महासचिव दिपेश शाह पनि राप्रपामा प्रवेश गरिसक्नु भएको छ ।

संगठनका अध्यक्ष रजवार कैलालीको ऐेश्वर्य बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुनुहुन्छ । रजवार राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएपछि राप्रपा नेपाल गठन गरेका कमल थापाको पार्टीको तीन महिनाअघि मात्र विद्यार्थी संगठनका अध्यक्ष बन्नुभएको थियो ।

युवा विद्यार्थी संगठनका महत्त्वपूर्ण व्यक्तिले साथ छाड्दै गएपछि कमल थापा कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ ।

‘हामी युवा विद्यार्थीले कमल थापाले राजसंस्थाको मुद्दा बोकेका कारण उहाँलाई साथ दिएका हौं, राजसंस्थाको मुद्दा बोकेको नेतृत्वले राजसंस्थालाई नै आक्षेप लगाउने, अनावश्यक भ्रम छर्ने, राजसंस्था पुनःस्थापनाको एजेन्डालाई पार्टीको नीति नबनाउने भएपछि हामी राप्रपामा समाहित भएका हौं,’ पार्टी प्रवेशपछि रजवारले भन्नुभयो, ‘अब कोही अलमलमा पर्नु हुँदैन, राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र बनाउन सबै एकजुट बनौं ।’