जनता टाइम्स

२३ असार २०७९, बिहीबार १७:१७

नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ : उपराष्ट्रपति पुन


काठमाडौं, २३ असार । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । आज अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको थियो । उहाँले दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्दै सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउँदै उहाँले नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्ने बताउनुभएको थियो ।

त्रीपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने उहाँले जनाउनुभयो । भेटमा उपराष्ट्रपतिले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने जनाउनुभएको थियो । उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमिकी मित्र भएको बताउनुभएको थियो ।