जनता टाइम्स

२३ असार २०७९, बिहीबार २०:४४

सरकारले भित्रभित्रै एसपीपीमा सम्झौता गर्दैछ : नेता रावल


काठमाडौं, २३ असार ।  नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सांसद रावलले यस्तो बताउनुभएको हो । उहाँले कुनै न कुनै किसिमबाट सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको भन्दै यसबारेमा गहन अध्ययन र खोजको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एसपीपी हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन । यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयम् मन्त्रीहरू, पार्टीका नेताहरूले भनिरहेका छन् । तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यत्तिका दिनसम्म के कारणले नेपाल एसपीपीको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनुभएको ? यो विषय अत्यन्त गम्भीर छ ।

बाहिर अघि नबढाउने भन्ने तर भित्रभित्रै कुनै एउटा बाटो खोजेर नेपाललाई शक्तिराष्ट्रको द्वन्द्वमा धकेल्नका लागि त्यो साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने भन्ने चलखेल भइरहेको छ भन्ने सुन्नमा आएको छ ।’सांसद रावलले नेपालको परराष्ट्र नीति, नेपालको संविधान बमोजिम नेपाल कुनै पनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने बताउनुभयो ।