जनता टाइम्स

२४ असार २०७९, शुक्रबार ०८:२२

बाजुराको बूढीगङ्गामा मतगणना सुरु हुँदै


काठमाडौं, २४ असार ।  बाजुराको बूढीगङ्गा नगरपालिकामा हिजो भएको पालिका चुनावको मतगणना आजदेखि सुरु हुँदैछ ।

मतगणनाको लागि सर्वदलीय बैठक बसेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिनुभयो । हिजो रातिदेखि नै मतगणना सुरु गर्ने योजना भए पनि मतपेटिक सङ्कलन, मुचुल्का उठाउने लगायतका काममा ढिलाइ भएको र कर्मचारी तथा दलका प्रतिनिधिले पनि थकाइका कारण आजदेखि मात्रै गणना सुरु गर्ने सहमति गरेको कडायतले बताउनुभयो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगङ्गामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले हिजो पुन : चुनाव गरेको हो ।

बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिनुभएको छ ।