जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १७:५९

महेश बस्नेतको अठोट : दुई बर्षभित्र बालकुमारीदेखि भक्तपुरसम्म बैकल्पिक राजमार्ग सञ्चालनमा ल्याइन्छ


भक्तपुर, साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले विकास गर्न नसक्ने, साथ पनि नदिने तर कुण्ठा पोख्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको बताउनु भएको छ । भक्तपुर २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले अव कुण्ठा पोख्न छाडेर बिकाश र समृद्धिको यात्रामा अघि बढदै रातलाई अध्यारो भयो भन्दै सराप्नुको साटो एउटा बत्ती बालेर उज्यालो वातावरण सिजर्ना गर्नुपर्ने बताउनुभयो ।

जस्तिक तज टोल विकास समितिको आयोजनामा हुनमन्ते नदीमा निर्माण गरिएको ट्रस पुलको आज उदघाटन गर्दै बस्नेतले विकासमा विरोध नभई सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘रातलाई सराप्ने हैन, सक्छौं भने एउटा बत्ती बालौं, रातलाई नसरापौं । रातलाई सरापेर कसैले पनि समय खेर नफाल्नुहोस, एउटा बत्ती बाल्नुहोस । रातमा एउटा बत्ती पनि नवाल्ने अनि रातभरी अध्यारोमा बसेर सराप्ने कार्य छाड्नुहोस,’ बस्नेतको भनाई थियो ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न विकासमा ऐक्यवद्धता, राजनीतिमा प्रतिस्पर्धा भन्ने नारालाई आत्मसात गरी अघि बढ्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ । सडक निर्माण भइरहेको कामलाई नदेखाई बीच भागको हिलोमात्र देखाएर विभिन्न सामाजिक सञ्जालमा पोष्ट गरी केही मिडियामा अन्तरवार्ता छाप्न लगाएर अनावश्यक प्रचार गर्न खोजिएको भन्दै बस्नेतले दुःख व्यक्त गर्नुभयो । ‘कहीँ कतै विग्रीएको छ भने पिर नगर्नाेस, त्यो बन्छ, त्यसको जिम्मा जनप्रतिनिधिले लिएका छौं । हनुमन्ते करिडोर निर्माणमा अहिले विरोध गर्नेको रेकर्ड सुरक्षित हुनेछ, अबको दुई वर्षमा निर्माण सम्पन्न भएपश्चात त्यो रेकर्ड पुनः बजाइने छ, अनि त्यो रेकर्डको छलफल गरौंला,’ बस्नेतले भन्नुभयो ।

हनुमन्ते करिडोर निर्माण प्रक्रियालाई पनि वास्तविकतालाई लुकाई गलत तरिकाले प्रचार गरिएको बस्नेतले बताउनु भयो । ‘विभिन्न व्यक्तिले विभिन्न प्रकारका आफ्ना व्यक्तिगत स्वार्थका कारण कुण्ठाहरु प्रस्तुत गर्न सक्छन, जुन मानवीय कमजोरी हो । विभिन्न मानिसका स्वार्थहरु विभिन्न ठाउँमा ठोक्किएला, त्यो उनीहरुको मानविय कमजोरी हो । सामुहिक स्वार्थ र राष्ट्रिय स्वार्थ जहिले पनि व्यक्तिगत स्वार्थभन्दा माथि हुन्छ । कुनै व्यक्तिगत अनेक स्वार्थमा हनुमन्ते करिडोरलाई प्रयोग गर्छ भने त्यो नसोचे हुन्छ, यो भक्तपुरका जनताले सहजै रुपमा व्यक्तिगत स्वार्थ पुरा हुन दिने छैनन,’ नेता बस्नेतको भनाई थियो ।

हनुमन्ते नदीको करिडोर निर्माणमा भक्तपुरका कुनै पनि जनतालाई अन्याय नुहने पनि उहाँले प्रष्ट पार्नुभयो । उहाँले ल्याण्ड पुलिङको माध्यमबाट उचित रुपमा क्षतीपूर्तिको व्यवस्था गरिने भन्दै ढुक्क हुन सवैलाई आग्रह गर्नुभयो । ‘सूर्यबिनायकक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा ल्याण्ड पुलिङ (जग्गा एकीकरण आयोजना) को माध्यमबाट बैज्ञानिक तवरले कार्य अघि बढाएकोले कसैलाई समस्या आउँदैन, भक्तपुरका जनतालाई अन्याय हुँदैन । समस्याबाट आत्तिनु पर्दैन, जसरी समस्या आउँछ त्यसरी नै समाधान पनि आउँछ,’ बस्नेतले भन्नुभयो ।

अघिल्लो वर्षभन्दा बढी पानी यो वर्ष परेता पनि यो वर्ष करिडोरका कारण डुवान नभएको जसले स्थानीयवासीमा करिडोर निर्माणको लागि थप उत्साह पैदा भएको बस्नेतको भनाई थियो । उहाँले जनताको सुझाव आगामी वर्ष करिडोर बालकुमारीसम्म पुर्याउनु पर्ने रहेको जानकारी पनि दिनुभयो । काम रोकिन्छ कि, विवाद छ रे भन्ने स्थानीयवासीको आशंका रहेको बताउँदै उहाँले सामाजिक तथा राष्ट्रिय स्वार्थभन्दा माथि व्यक्तिगत स्वार्थ नहुने बताउनु भयो । बस्नेतले हनुमन्ते करिडोर निर्धारित समयमा नै सम्पन्न हुनेमा कुनै शंका नगर्न पनि स्थानीयवासीलाई आग्रह समेत गर्नुभयो ।

कतिपय विरोधी मानसिकताका गलत निसहरुले कहाँ गल्ती र कमजोरी होला भनेर हेरिरहने गरेको बताउँदै उहाँले त्यसबाट काममा अझै सतर्कता अएको बताउनु भयो । ‘राजनीतिमा विरोधीको भूमिका पावरवाला चस्मा जस्तै हो । कहिले काँही हामीले नदेखेको कुराहरु विरोधीले देखाई दिनुहुन्छ । त्यसैले उहाँहरुको भूमिकालाई पावरवाला चस्माको संज्ञा दिएको छु,’ बस्नेतले भन्नुभयो ।

उहाँले अवको दुई वर्षपछि बालकुमारीदेखि भक्तपुरसम्म अरनिको राजमार्गको बैकल्पिक राजमार्गको रुपमा सञ्चालनमा ल्याएरै छाडने प्रतिवद्धतासमेत दोहोर्याउनु भयो । उहाँले बालकोटमा सिमांकन तथा विभिन्न बहानामा समस्या उत्पन्न गराई पहिले आएको बजेटमा काम हुन नदिएको तर अहिले पुनः उक्त बजेटलाई काम अघि बढाइएको बताउनुभयो । ‘सस्तो प्रचारको कुनै मूल्य हुँदैन । एक महिनापछि बालकाुटको त्यो निर्माणधिन सडकमा हिलो देख्नुहुने छैन, सडक कालोपत्रे भइसक्छ,’ बस्नेतले भन्नुभयो ।

जेठ ३ गते मदन–आश्रित दिवशको अवसमा शिलान्यास गरिएको उक्त पुल करिव दुई महिनामा नै सम्पन्न भएको जानकारी गराउँदै बस्नेतले भक्तपुरमा निर्माण गरिएका पुलहरु अधिकाशं दुई तीन महिनामा निर्माण गरिएको जानकारी गराउनुभयो । ‘स्थानीय उपभोत्ताको चासो, स्थानीय तहको सक्रियता, निर्माण व्यवसायीहरुको सक्रियता नै निर्माण सम्पन्न हुनुको प्रमुख कारण हो,’ बस्नेतले भन्नुभयो । पाँच अर्वभन्दा बढीका आयोजनाहरु भक्तपुरमा निर्माणाधीन रहेको जानकारी दिँदै बस्नेतले ७५ भन्दा बढी सडक, ५० वटा भन्दा बढी खानेपानी, १२ वटा भन्दा बढी पुल, ढल, भू–क्षय, प्रतिजग्गा संरक्षण लगायतका आयोजनाहरु निर्माण भएको बताउनुभयो ।

कार्यक्रममा सूर्यबिनायक नगरपालिकाका प्रमुख तथा अहुमन्ते नदी सफाई अभियानका संयोजक बासुदेब थापा, सहसंयोजक तथा उपप्रमुख जुनादेवी बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।