जनता टाइम्स

४ श्रावण २०७६, शनिबार १९:१५

आन्दोलनमा उत्रिएका उद्योगी–ब्यापारीलाई सञ्चारमन्त्री बाँस्कोटाको चेतावनी : नौटंकी नगर्दा हुन्छ


बनेपा, साउन ४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुद्धको देशमा हिंसा कदापी स्वीकार्य नहुने सरकारको बटमलाइन सुनाउनु भएको छ । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको ४०औं साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले सो धारणा राख्नुभएको हो ।

‘बुद्धको देशमा हिंसा कदापी स्वीकार्य छैन, जसले हिंसा गर्छ अन्तिममा त्यही शिकार बन्छ,’ मन्त्री बाँसकोटाले भन्नुभयो । उहाँले विभिन्न स्थानमा लुकेर जनतालाई आतंकित पार्ने जंगली राज वर्तमान अवस्थामा नचल्ने घोषणा पनि गर्नुभयो । ‘यो प्रजातन्त्र हो, प्रजातन्त्रमा विचार चल्छ, बहस हुन्छ, तर लुकेर जनतालाई आतंकित पार्ने जंगली राज चल्दैन,’ मन्त्री बाँस्कोटाको भनाई थियो । खुला राजनीतिमा आएर राष्ट्रपतिसम्म बन्न सकिने अवस्थामा कसैले कसैलाई नरोकेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले जनताका सामुन्ने हिंसा भड्काएर आतंक मच्चाउने, स्कूल र उद्योगीलाई दुःख दिने, स्थानीय निकायमा चन्दा आतङ्क मच्चाउने जस्ता गतिविधि गलत भएको र सरकारले त्यस्तालाई छुट नदिने प्रष्ट पार्नुभयो । ‘अब यस्ता गतिविधि चल्नेवाला छैन, यो देशका निम्ति घातक सावित हुनेछ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । कसैले हिंसा भड्काउँदा सरकार झुक्ला भन्ने ठान्नु गलत भन्दै उहाँले हिंसासामू सरकार कुनै पनि हालतमा नझुक्ने प्रष्ट पार्नुभयो ।

‘मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने नौटंकी कसैले पनि नगर्दा हुन्छ, तपाईं (उद्योगी) हरु पनि सडकमा आउनु पर्दैन, छलफलबाटै समस्या समाधान हुन्छ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । देशमा आन्दोलन, झडप भैदिए आफ्नो स्वार्थसिद्ध गर्न खोज्ने एकथरि भएपनि तिनको चाहना पूरा नहुने उहाँको ठोकुवा थियो ।

मन्त्री बाँस्कोटाले देश निर्माणका लागि विदेशीको सहयोग पूँजी प्रविधिमा लगानी लिइने पनि बताउनुभयो । ‘विदेशीको सहयोग पनि लिन्छौँ तर हाम्रो हितमा लिन्छौँ, उनीहरुको हितका लागि हैन,’ सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाई थियो । उहाँले उद्योगको क्षेत्रमा केही कमी कमजोरी भए छलफल गरेर अगाडि बढ्ने सरकारको नीति रहेको पनि प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्र ढकाल, किशोर मानन्धर, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा मन्त्री बाँस्कोटालाई अभिनन्दन गरिएको थियो ।